ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले शैक्षिक सुधार अभियान अन्तर्गत सामुदायिक विद्यालयमा ईहाजिरीको व्यवस्था गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका १५ मावि र ५ निमाविमा ईहाजिरीको व्यवस्था गरिएको हो ।
नगर क्षेत्रम ५२ सामुदायिक विद्यालय रहेका छन् । शैक्षिक सुधारका लागि बाँकी विद्यालयमा पनि चाँडै ईहाजिरी सुरु गरिने नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिनुभयो । विद्यालयमा शिक्षकको नियमित र समयमै उपस्थिति गराउन ईहाजिरी थालिएको हो । सबै विद्यालयको ईहाजिरी चाँडै नगरपालिकाबाटै कन्ट्रोल गर्नेगरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । अहिले विद्यालयमा प्रधानाध्यापकबाट कन्ट्रोल गर्नेगरी ईहाजिरी व्यवस्थापन गरिएको छ ।
नगरपालिकाले आउँदा दिनमा विद्यालयमा सीसीटीभी क्यामेरा जडान गर्ने योजना बनाइरहेको छ । सामुदायिक विद्यालयमा दरबन्दी मिलान, सबै पिरियडमा पढाइ हुने व्यवस्था, ईहाजिरीको व्यवस्था, सीसीटीभीको व्यवस्था, अनुगमनलाई कडाई, प्रधानाध्यापक मूल्यांकन डायरीको व्यवस्था, तालिमलगायतका विषयलाई प्राथमिकता दिएर नगरपालिकाले शैक्षिक सुधार अभियान थालेको छ ।