ओखलढुंगा । ओखलढुंगाको ३ हजार ३ सय ५० मिटर उचाईको पर्यटकीयस्थल देम्बाडाँडासँगै रहेको एक रिसोर्टमा आगलागी भएको छ । दावा एग्रो टुरिजम प्रालिले सञ्चालन गरेको रिसोर्टमा आगलागी भएको हो ।
आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको रिसोर्ट सञ्चालक आङदावा शेर्पाले जानकारी दिनुभयो । मंगलबार दिउँसोबाट सुरु भएको आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन । आगलागीबाट रिसोर्टको संरचना, किचन, लत्ताकपडा, खाद्यान्न सामग्री र भाडावर्तन पूर्णरूपले जलेर नष्ट भएको छ ।
रिसोर्टमा लागेको आगलागी आज साँझपख मात्रै नियन्त्रणमा आएको छ । देम्बाडाँडासँगै एकान्त ठाउँमा रहेको रिसोर्टमा कर्मचारी खानेपानी लिन गएको बेला आगो लागेको बताइएको छ ।