ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाले आज संविधान दिवसको अवसरमा "बदलिँदो राजनीतिक परिवेश र संविधानको रक्षा" विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ओखलढुंगा सदरमुकामको वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, र स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य यज्ञराज सुनुवारले नेपालको संविधान प्रगतिशील र गतिशील भएको बताउँदै यसको रक्षाका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले संविधान कुनै धर्मग्रन्थ नभएको र प्रक्रियागत ढंगले संशोधन गर्न सकिने बताए । जेनजी आन्दोलनले उठाएका केही मुद्दाहरु सही भए पनि हिंसात्मक गतिविधि र राष्ट्रिय सम्पत्तिको विनाश स्वीकार्य नभएको उनको भनाइ थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलले संकटको समयमा संविधानको रक्षा गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै संसद विघटनको सिफारिस गलत भएको र लोकतान्त्रिक गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालले संविधान जीवित रहेको र यसको रक्षाका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । उनले २०४६ सालपछि निर्वाचित सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग समेत गरे । जेनजी आन्दोलनले भ्रष्टाचार र नेतृत्व परिवर्तनको मुद्दा उठाए पनि हिंसात्मक गतिविधिले संविधानमाथि प्रश्न उठाएको उनको भनाइ थियो । उनले राजनीतिक दलहरुले आत्मआलोचना गर्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मेखबहादुर खड्काले संविधानलाई मूल कानुनको रुपमा सबैले सम्मान गर्नुपर्ने बताए । उनले संविधान आफैंमा परिपूर्ण नहुने र यसलाई लागू गर्ने मान्छेको इच्छाशक्तिमा निर्भर हुने बताए । हालैका घटनाहरुको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति आश्राचन राईले संविधान र लोकतन्त्रप्रति नेपाली कांग्रेसको प्रतिबद्धता दोहोर्याउँदै यसको रक्षामा पार्टीको ऐतिहासिक भूमिका रहेको बताए । उनले हालैको जेनजी आन्दोलनमा युवाहरुले देशका लागि बलिदान दिएको स्मरण गर्दै सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे । साथै, उनले भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुले बदनामी ल्याएको भन्दै पार्टीलाई शुद्धीकरण गर्नुपर्ने र नेतृत्वले जिम्मेवारी लिनुपर्ने बताए ।
नेपाल तरुण दलका प्रतिनिधि भीष्मलाल श्रेष्ठले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचारविरुद्धका मुद्दाहरु सही भएको तर हिंसात्मक गतिविधिले संविधान र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको बताए । उनले युवाहरुलाई शिक्षित र संगठित गर्दै राजनीतिमा सहभागी गराउनुपर्नेमा जोड दिए । साथै, उनले आन्दोलनमा स्वयंसेवकको भूमिका निर्वाह गरेको र शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताए । उनले संविधानको रक्षा भनेको जनताको अधिकारको रक्षा गर्नु रहेको पनि धारणा राखे ।
नेपाल महिला संघकी अध्यक्ष हेमालक्ष्मी राईले संविधानले महिला, दलित, जनजाति र अपांगहरुको हक सुनिश्चित गरेको बताउँदै यसको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताइन् । उनले नेतृत्व हस्तान्तरण र भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड दिइन् । उनले सबै पुस्ताले एकअर्काको सल्लाहमा काम गरेर नेपाल बनाउनुपर्ने बताइन् ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जेनजी आन्दोलनले भ्रष्टाचार र सामाजिक सञ्जालको स्वतन्त्रताको मुद्दा उठाएको बताए । उनले आन्दोलनमा घुसपैठ भएको र हिंसात्मक गतिविधिले संविधानमाथि धावा बोलेको भन्दै आपत्ति जनाए । उनले नेपाली कांग्रेसले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताए ।
नेपाल दलित संघका अध्यक्ष होम बहादुर विश्वकर्माले संविधानले दलित, महिला, जनजाति र अपांगहरुको हक स्थापित गरेको बताए । उनले विगतमा दलित समुदायले भोगेका विभेदको स्मरण गर्दै संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले जेनजी आन्दोलनलाई समर्थन गर्दै त्यो आन्दोलनमा भएको हिंसात्मक घटनाहरुको छानबिन र दोषीलाई कारबाही गर्नुपर्ने माग राखे ।
वक्ताहरुले नेपालको संविधान विश्वमै उत्कृष्ट भएको तर कार्यान्वयनमा नेतृत्वको कमीले प्रभावकारिता घटेको बताए । जेनजी आन्दोलनले भ्रष्टाचार र नेतृत्व परिवर्तनको मुद्दा उठाए पनि हिंसात्मक गतिविधि र राष्ट्रिय सम्पत्तिको विनाशले गम्भीर प्रश्न उठाएको उनीहरुको भनाइ थियो । उनीहरुले आन्दोलनमा घुसपैठ भएको र यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । साथै, संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने र नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमको समापन गर्दै सभापति तेजेन्द्र खनालले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए । उनले आगामी दशैं, दीपावली र छठ पर्वको शुभकामना दिँदै सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमले संविधानको रक्षा र बदलिँदो राजनीतिक परिवेशमा दलहरुबीच सहकार्यको आवश्यकतामा जोड दिएको छ ।