लिखुबासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सादर नमन। पछिल्ला केही समयदेखि सामाजिक सञ्जालमार्फत बिना तथ्य, खोज, अध्ययन र अनुसन्धान विभिन्न अफवाह फैलाउने तथा फेसबुके राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ।
यस्ता गतिविधिले हाम्रो समाजको सामाजिक सद्भाव, आपसी विश्वास, एकता र प्रेममा नकारात्मक असर पुर्याइरहेको महसुस गरेको छु । हाम्रो गाउँ विकास, शिक्षा, सामाजिक एकता र पहिचानका हिसाबले मध्यमस्थानमा रहेको हाम्रो लिखुको गरिमा आज किन र कसरी खस्कँदै गएको छ भन्ने विषयमा हामी सबैले गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ।
दोषारोपण र कटाक्षभन्दा पनि “हाम्रो गाउँ, हामी बनाउँ” भन्ने साझा संकल्पका साथ अघि बढ्नु नै आजको आवश्यकता हो। राजनीतिक विचार र आस्था फरक हुन सक्छन्, तर त्यसकै आधारमा एकअर्काप्रति तिक्तता, आरोप–प्रत्यारोप र विभाजनको राजनीति गर्नु कसैको हितमा छैन।
दोषारोपण र कटाक्षभन्दा पनि “हाम्रो गाउँ, हामी बनाउँ” भन्ने साझा संकल्पका साथ अघि बढ्नु नै आजको आवश्यकता हो। राजनीतिक विचार र आस्था फरक हुन सक्छन्, तर त्यसकै आधारमा एकअर्काप्रति तिक्तता, आरोप–प्रत्यारोप र विभाजनको राजनीति गर्नु कसैको हितमा छैन। सबैभन्दा माथि हाम्रो गाउँ, हाम्रो समाज र हाम्रो पहिचान हुनुपर्छ। विशेषगरी युवाहरूले सामाजिक सञ्जालमा विवाद बढाउने होइन, एकताको सन्देश फैलाउने जिम्मेवारी लिनुपर्छ।
हाम्रो लिखुको प्रतिष्ठा निर्माण र संरक्षणमा अग्रज धेरै व्यक्तिहरूले पुर्याएको योगदान अविस्मरणीय छ। उहाँहरूको त्याग र समर्पणले लिखुलाई छुट्टै पहिचान दिलाएको थियो। अब त्यो गरिमा जोगाउने जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ। हाल लिखुको समग्र विकासका लागि सक्रिय सम्पुर्ण युवासाथिहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार साथिहरु, देश बिदेश्मा रहेर विभिन्न पेशा, ब्यवसायमा आबद्ध, अग्रज ब्यक्तित्वहरू, समकालीन साथीहरू, कनिष्ठ साथीहरू तथा शिक्षाप्रेमी प्रधानाध्यापक , क्याम्पस प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, संघ–संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी तथा सम्पूर्ण लिखुबासीप्रति हार्दिक अनुरोध गर्दछु—आउनुहोस्, हाम्रो गाउँको गरिमा, विकास र आपसी एकतालाई अझ सुदृढ बनाउन हातेमालो गरौँ।
हामीबीच विगतदेखि देखिँदै आएको फुट र विभाजनको संस्कृतिबाट अब माथि उठ्ने समय आएको छ। “भाइ फुटे गवार लुटे” भन्ने उखानलाई केवल सुन्ने होइन, व्यवहारमै लागू गरौँ। मतभेद हुन सक्छ, मनभेद हुनु हुँदैन। हाम्रो साझा लक्ष्य लिखुको विकास, समृद्धि र सम्मान हुनुपर्छ।
अन्त्यमा, मैले समाजसेवालाई आफ्नो स्पष्ट संकल्प र जिम्मेवारीका रूपमा अघि बढाइरहेको छु। यही उद्देश्यका साथ लिखु गाउँपालिकाका नौवटै वडाको विकासका सम्भावना, चुनौती र समाधानबारे गहिरो अध्ययन, खोज र अनुसन्धान गरिरहेको छु। समयक्रमसँगै तथ्य, योजना र स्पष्ट दृष्टिकोणसहित तपाईंहरूमाझ आउनेछु।
आउनुहोस्, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हाम्रो लिखुको उज्ज्वल भविष्यका लागि एकताबद्ध बनौँ। यही नै आजको सबैभन्दा ठूलो आवश्यकता हो।
-लिखु गाउँपालिका २ ओखलढुंगा