यदि तपाईंले एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ र गुगल प्ले स्टोरबाट जथाभावी एपहरु डाउनलोड गर्ने गर्नुहुन्छ भने सावधान !
प्लेस्टोरमा रहेका कतिपय एपहरु प्रयोगकर्ताका लागि जोखिमपूर्ण हुने गरेको पाइएको छ । गुगलको प्रमाणीकरण प्राप्त गरी प्लेस्टोरमा ठाउँ पाएका कतिपय एपहरुले प्लेस्टोरमा छिरिसकेपछि प्रयोगकर्तालाई हानी गर्ने अवाञ्छित गतिविधि गर्ने गरेका छन् ।
हालै गुगलले यस्तै गतिविधिमा संलग्न क्याम स्क्यानर नामक चर्चित एपलाई प्ले स्टोरबाट हटाइदियो । उक्त एपले प्रयोगकर्ताका डाटाहरु विज्ञापनको प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइएको थियो । गुगलले हटाइदिएपछि क्याम स्क्यानरका डेभलपर्सले एपमा रहेको गल्ती तत्काल सुधार गरी गुगललाई अनुरोध गरेपछि गुगलले उक्त एपलाई पुर्नस्थापित गरेको थियो ।
पछिल्लोपटक गुगलले विभिन्न ६ वटा यस्तै एपहरुलाई प्ले स्टोरबाट हटाइदिएको छ । ती एपहरुले प्रयोगकर्तालाई हानी पूराउने अवाञ्छित क्रियाकलाप गरेको पाइएपछि गुगलले यस्तो कदम चालेको हो । ती सबै एपहरु अहिलेसम्म ५० करोड पटक डाउनलोड भैसकेका छन् ।
ती ६ वटा एप मध्ये चारवटा भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भिपिएन एप हुन् । जसमा हटस्पट भिपिएन, फ्रि भिपिएन मास्टर, सेक्योर भिपिएन र सिएम सेक्योरिटी एपलक एन्टिभाइरस रहेका छन्। अन्य दुईवटा एपहरु क्यामरा एप हुन् । जसमा सन प्रो ब्यूटी क्यामरा र फन्नी स्विट ब्यूटी सेल्फी क्यामरा एप रहेका छन् ।
यदि तपाइँले यी एपहरु आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ भने तत्कालै डिलिट गरिहाल्नुस् । किनकी यी एप्हरु जोखिमपूर्ण छन् ।
गुगलद्वारा हटाइएका उक्त चारवटा भीपीएन एपहरु चिनियाँ डेभलपर्सले निर्माण गरेका हुन् । यी एपहरुले स्मार्टफोनमा असंख्य ठगी विज्ञापनहरु पठाउने गरेको पाइएको छ ।
त्यस्तै अन्य दुई क्यामरा एपले पप अप्स विज्ञापनको सहायताले पैसा कमाउने गरेको भन्दै गुगलले हटाइदिएको छ । त्यस्ता विज्ञापनहरु पृष्ठभूमिमा चलिरहने र त्यसले डिभाइसको ब्याट्री खपत गर्नुका साथै डिभाइसलाई समेत स्लो गराउने गरेको पाइएको थियो ।
साथै यी एपले प्रयोगकर्ताको अडियो रेकर्ड गर्ने अनुमति माग्ने लगायतका अनेकन अवाञ्छित गतिविधि समेत देखाउने गरेको पाइएको छ ।
साइबर सेक्योरिटी अनुसन्धानकर्ताहरुले हालै विभिन्न २४ वटा एन्ड्रोइड एपहरुमा भाइरसले आक्रमण गरेको खुलासा गरेका थिए । ती एपका लाखौँ प्रयोेगकर्ता रहेका छन्। ती एपमा हुने भाइरसले प्रयोगकर्ताका डिभाइसका डाटा चोरी गर्ने गरेको खुलासा भएको छ ।
एजेन्सीको सहयोगमा अनलाइनखबरबाट साभार