ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । सरकारका पछिल्ला कदमविरुद्ध आवाज उठाउन ओखलढुंगा कांग्रेस सडकमा उत्रिने भएको छ । कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत सोमबार जिल्लामा सडकमा उत्रिएर विरोध जनाइने ओखलढुंगा कांग्रेसले जनाएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार प्रदर्शन गर्न लागेको हो । ओखलढुंगा कांग्रेसका उपसभापति तेजेन्द्र खनालले जिल्ला सदरमुकाममा हुने प्रदर्शन महत्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसंगै सबै लोकतन्त्रपक्षधरलाई अपील गरेका छन् । उनले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न/गराउन समेत आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले सोमबारको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताएको छ । सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ। सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दावी कांग्रेसको छ।