ओखलढुंगा, ११ वैशाख । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदमा उठ्ने उम्मेदवारको विषय थप पेचिलो बन्दै गएको छ । कांग्रेसले सविता राईलाई अध्यक्ष पदमा टिकट दिने निश्चित भएपछि कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा नै बागी उठाउन लागि परेका छन् ।
खतिवडाले ज्ञानेन्द्र रुम्दालीलाई काखी च्यापेर बागी उठाउने तयारी गरेका हुन् । रुम्दालीले २०६४ र २०७४ मा कांग्रेसका उम्मेदवार विरुद्ध बागी उठेर उम्मेदवारलाई हराएका थिए । उनलाई अहिले पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले कारबाही फुकुवा गरेको छैन ।
उम्मेदवारका विरुद्ध पटक पटक बागी उठेर हराउन लागिपरेको व्यक्तिलाई टिकट लबिङ गरेपछि कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले सविता राईलाई नै टिकट हुनुपर्ने चर्को अडान राखेका थिए । कांग्रेसको केन्द्रीय कार्यालयले आज सविता राईलाई उम्मेदवार बनाउन निर्देशन दिएपछि खतिवडाको निर्देशनमा मानेभञ्ज्याङमा भाँडभैलो सुरु भएको छ ।
खतिवडाले कांग्रेसको रुख चिन्हबाट अध्यक्ष पदमा उम्मेदवारी नदिन दबाब दिएको र रुम्दालीलाई स्वतन्त्र उम्मेदवारी दिन समेत निर्देशन दिएको स्रोतको दाबी छ ।
सविता राई कांग्रेसको प्रदेश १ कार्य समिति सदस्य हुन् । खतिवडा मानेभञ्ज्याङ गाउँपालिकाका स्थानीय हुन् । केन्द्रीय राजनीतिमा प्रभाव देखाउन खोजे पनि जिल्लाको राजनीतिमा खतिवडा 'भिलेन' शैलीको नेताको रुपमा चिनिने गर्छन् ।
पार्टीवृतमा २०७४ को निर्वाचनमा तत्कालीन पार्टी सभापति प्रदीपकुमार सुनुवारलाई ओखलढुंगा प्रदेश ख मा हराउन खतिवडाले रुम्दालीलाई प्रयोग गरेको कुरा उनीहरुकै मुखबाट सुनिएको नेताहरु बताउँछन् ।