ओखलढुंगा । प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा जिउँदो सहिदका रुपमा चिनिएका महेश कोर्मोचाको गएराति निधन भएको छ । उहाँ लामो समयदेखि क्यान्सरपीडित हुनुहुन्थ्यो । उहाँको गएराति निधन भएको हो ।
नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति तथा जिल्ला विकास समितिका पूर्व सभापति महेश कुमार कोर्मोचाले आफ्नो जीवनको सात दशकभन्दा बढी समय प्रजातान्त्रिक आन्दोलन र पार्टी संगठनमा समर्पित गर्नुभएको थियो।
उहाँ एक यस्ता साहसी योद्धा हुनुहुन्थ्यो, जसले नेपाली कांग्रेसले चलाएको प्रजातान्त्रिक आन्दोलनका लागि बन्दुक चलाउनुभयो, गाडी चलाउनुभयो र पार्टीको आर्थिक संकट टार्न रक्सीको व्यापार गर्नेसम्मका कार्य गर्नुभयो।
राणाकालदेखि बहुदलीय व्यवस्थासम्मको यात्रा उहाँले करिब ५–६ वर्षको उमेरदेखि नै कांग्रेसका भूमिगत चिठीपत्र ओसार्ने कामबाट सुरु गर्नुभएको थियो। उहाँका हजुरबुवा पनि सक्रिय कांग्रेस कार्यकर्ता हुनुहुन्थ्यो, जसले २००७ साल कात्तिक ७ गते आफ्नै घरबाट सात नाल बन्दुक पड्काएर क्रान्तिको उद्घोष गर्नुभएको थियो।
२०१५ सालको संसदीय चुनावमा ओखलढुंगाबाट कांग्रेसका उम्मेदवार पेशलकुमार पोखरेललाई जिताउन उहाँ सक्रियतापूर्वक खटिनुभएको थियो। २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध 'कु' गरेपछि उहाँ बेलायती सेनामा भर्ना हुनुभयो र आठ वर्ष सेवा गर्नुभयो। सेनाबाट फर्किएपछि उहाँ पुनः भूमिगत राजनीतिमा सक्रिय हुनुभयो।
२०२५ सालमा नेपाली कांग्रेसले सशस्त्र युद्ध घोषणा गरेपछि तपाईं बनारसमा फौजी तालिम लिएर पूर्वाञ्चलमा पार्टी गतिविधि विस्तारको जिम्मेवारी सम्हाल्नुभयो। प्रशासनको निगरानी छल्न धरानबाट काँकडभिट्टा र जनकपुर रुटमा तपाईंले गाडी चलाउनुभयो, जसमा बन्दुक र पार्टीका प्रचार सामग्री बोकिन्थे।
कोर्मोचाविरुद्ध चार जिल्लामा वारेन्ट जारी भएपछि उहाँले बिपी कोइरालालाई भेट्न बनारस पुगेर करिब सात वर्ष निर्वासित जीवन बिताउनुभयो। प्रवासमा पार्टी सञ्चालन गर्न आर्थिक अभाव भएपछि बिपीको सल्लाहमा उहाँले जोगबनीमा गाडी चलाउनुभयो र रक्सीको व्यापारसमेत गर्नुभयो।
२०३१ सालमा सोलु ब्यारेक कब्जा गर्ने योजनामा कोर्मोचा, क्याप्टेन यज्ञबहादुर थापासहित २७ जनाको लडाकु टोलीको नेतृत्व गर्दै नेपाल प्रवेश गरेको थियो। टिम्बुरबोटे काण्डमा १८ जना योद्धाले ज्यान गुमाए तापनि उहाँ संयोगले बच्न सफल हुनुभयो। यो घटनापछि नेपाली कांग्रेसले सशस्त्र संघर्षको बाटो परित्याग गरेको थियो।
२०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि उहाँ पनि पक्राउ पर्नुभयो र पटक–पटक गरी आठ वर्ष जेल जीवन बिताउनुभयो।
२०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई कार्यकाल जिल्ला विकास समिति सभापति र दुई कार्यकाल नेपाली कांग्रेस ओखलढुंगाको सभापति निर्वाचित हुनुभयो।
कोर्मोचा पछिल्लो समय पार्टीमा गुट–उपगुटको प्रभाव बढेको र कांग्रेस आफ्नो आदर्शबाट विचलित भएकोप्रति चिन्तित हुनुभएको थियो। उहाँको निधनले नेपाली कांग्रेसले एक निष्ठावान्, इमान्दार, साहसी र दूरदर्शी नेतृत्व गुमाएको छ। कोर्मोचाको योगदान नेपाली प्रजातान्त्रिक आन्दोलनको इतिहासमा सधैं स्वर्णाक्षरमा लेखिनेछ।