सिन्धुली । सिन्धुलीको खाङसाङस्थित फिक्कल गाउँपालिकाले स्थानीयस्तरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ तेस्रो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८२ यही असोज ३० गतेबाट आयोजना गर्ने भएको छ । 'स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद' भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
फिक्कल गाउँपालिकाको कार्यालय, खाङसाङद्वारा प्रकाशित सूचना अनुसार प्रतियोगिता २०८२ असोज ३० गते देखि सुरु भई कार्तिक २ गतेसम्म चल्नेछ । सम्पूर्ण खेलहरू फिक्कल गाउँपालिका वडा नं. ५, स्वलपाठाना डाँडागाउँ खेल मैदानमा सञ्चालन हुनेछन् । उक्त खेल मैदान मद्यपहाडी लोकमार्गबाट २ किलोमिटर भित्र माथि पर्छ ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । जसको लागि असोज २९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । आयोजकले टिमहरूलाई उत्साहजनक सहभागिताका लागि आह्वान गरेको छ ।
प्रतियोगितामा विजेता टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम स्थान हासिल गर्ने टिमले एक लाख रुपैयाँ र द्वितीय हुने टिमले रु. ५० हजार नगद हात पार्नेछन् । त्यसैगरी, तृतीय हुने टिमले रु. २५ हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमले रु. १० हजार नगद पुरस्कार पाउनेछन् । यसका अतिरिक्त, प्रतियोगिताको आकर्षणका रूपमा बेस्ट प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।
खेललाई व्यवस्थित र मर्यादित बनाउनका लागि केही अनिवार्य नियमहरू पनि तोकिएका छन् । खेलसम्बन्धी जानकारीका लागि इच्छुक टिमहरूले ९८०१२७५१७५ र ९८४३७४७५०१ मा सम्पर्क गर्न सक्ने फिक्कल गाउँपालिका वडा नं ६ का वडाध्यक्ष कुलेन्द्र रानामगरले जानकारी दिनुभयो ।
खेलसम्बन्धी विस्तृत जानकारी गाउँपालिकाको सूचनामा पनि हेर्न सक्नुहुनेछ ।
