ओखलढुंगाको राजनीतिक माहोल यतिबेला निकै रोचक मोडमा पुगेको छ । जिल्लामा दशकौँदेखि जरा गाडेर बसेका दुई प्रभावशाली नेताहरु पूर्व सांसद यज्ञराज सुनुवार र पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङको दाबेदारीलाई किनारा लगाउँदै एमालेले २९ वर्षीया युवा नेतृ अस्मिता थापालाई आउँदो फागुन २१ को निर्वाचनको लागि टिकट दिने निर्णय गरेको छ ।
यसपटक टिकट नपाएका यज्ञराज सुनुवार ओखलढुंगा एमालेका यस्ता खम्बा हुन्, जसले २०४५ सालदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेर रत्नराज्य र महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति हुँदै राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाएका थिए । २०७० र २०७४ को निर्वाचनमा सानदार जित निकालेका सुनुवारले विभिन्न कालखण्डमा एमाले केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, जिल्ला ईञ्चार्ज तथा पार्टीको विभिन्न पदमा रहेर लामो अनुभव गरिसकेका छन् ।
त्यसैगरी, टिकटका अर्का बलिया दाबेदार अम्बिरबाबु गुरुङ पनि ओखलढुंगाका लोकप्रिय र विकासप्रेमी नेताका रूपमा परिचित छन् । २०५३ सालदेखि पार्टीको तल्लो तहबाट सक्रिय गुरुङले प्रदेश सांसद र भौतिक पूर्वाधार विकास मन्त्रीजस्ता पदहरुमा रहेर जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याइसकेका छन् । २०७० को निर्वाचनमा एमालेलाई जिताउन निर्णायक भूमिका खेलेका र पार्टी संकटमा हुँदा संगठनलाई एकताबद्ध राख्न खटिएका गुरुङको नाम उम्मेदवारको चर्चामा अग्रपंक्तिमा भए पनि अन्ततः पार्टीले उनलाई पनि यो पटक विश्राम दिने निर्णय गरेको छ ।
यी दुई अनुभवी र प्रभावशाली नेताहरूलाई पन्छाएर लिखु गाउँपालिका उपाध्यक्ष समेत रहेकी र हालै एमाले केन्द्रीय सदस्यमा विजयी २९ वर्षीया अस्मिता थापालाई अघि सार्नु एमालेका लागि एक ठूलो राजनीतिक जुवा जस्तै देखिएको छ । तरपनि जेन्जी आन्दोलनसँगै बदलिँदो राजनीतिक चेतना र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्न उनी एमालेका लागि एउटा भरपर्दो र नयाँ 'टेस्ट' का रूपमा उभिएकी छिन् ।
अस्मिता केवल उमेरले मात्र युवा नभई, वैचारिक रूपमा निकै कडा र स्पष्ट वक्ताका रूपमा समेत चिनिन्छिन् । पुराना हस्तीहरूको बलियो प्रभाव रहेको ओखलढुंगामा नयाँ पुस्ताको भावनालाई चुनावी परिणाममा बदल्न सक्ने क्षमता राख्ने उनी परम्परागत राजनीतिक शैलीभन्दा माथि उठेर प्रत्यक्ष सुशासन र डेलिभरीको पक्षमा उभिएकी छिन् । त्यसैले, विरासत जोगाउने पुराना दलका नेताहरू र परिवर्तनको नारा लिएर आएका नयाँ शक्तिहरूका बीच अस्मिता थापा एमालेका लागि सशक्त कडी बन्न पुगेकी हुन् । तर उनको यो यात्रा सहज भने देखिँदैन ।
एकातर्फ परिवर्तनको नयाँ नारा लिएर आएका रास्वपा, श्रम संस्कृति र जेन्जी अभियन्ताहरूले युवा र 'स्विङ' भोट काट्ने खतरा छ भने, अर्कोतर्फ कांग्रेसका उम्मेदवारको प्रभावसँग जुध्नु र आफ्नै पार्टीभित्रका 'हेभीवेट' मानिएका र टिकटबाट वञ्चित पुराना नेताहरूको चित्त बुझाउनु उनका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ ।
दशकौँदेखि जिल्लाको राजनीति र संगठनमा पकड जमाएका यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङ जस्ता प्रभावशाली नेताहरू र उनीहरूका शुभचिन्तकलाई विश्वासमा लिएर चुनावी मैदानमा पूर्ण सक्रिय बनाउन सकिनन् भने, ती पुराना हस्तीहरूको मौनता वा असन्तुष्टि नै उनको विजयको मुख्य बाधक बन्न सक्छ । बाहिर नयाँ शक्तिसँग भिड्नु र भित्र आफ्नै पार्टीका दिग्गजहरूलाई एकढिक्का बनाएर लैजानु पर्ने दोहोरो दबाबमा रहेकी अस्मितालाई यो आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने चुनौती पनि उत्तिकै छ । तर यो चाहिँ भन्न सकिन्छ कि, युवा र महिलाले एमाले ओखलढुंगाबाट टिकट पाउनु आफैँमा एउटा सकारात्मक राजनीतिक क्रमभङ्गता र परिवर्तनको संकेत हो, जसले जिल्लाको परम्परागत राजनीतिक विरासतलाई चुनौती दिँदै नयाँ पुस्तामा उत्साह जगाउन सक्छ ।