ओखलढुंगा । ओखलढुंगा सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा सेवा प्रवाह हुन नसक्दा आज शुक्रबार सेवा लिन गएका सेवाग्राहीहरू रित्तो हात घर फर्किन बाध्य भएका छन् । बैंक खुला भनिए पनि सेवा नपाउँदा टाढा-टाढाबाट आएका ग्राहकहरूले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
मोलुङ गाउँपालिका १ का स्थानीय शङ्कर वाग्लेले राष्ट्रिय बाणिज्य बैंकमा कारोबार गर्न जाँदा सेवा नपाएको गुनासो ओखलढुंगाखबरसँग गर्नुभयो । अन्य धेरै सेवाग्राहीहरु बैंकमा सेवा लिन जाँदा सेवा लिनबाट बञ्चित भएको उहाँको भनाइ छ ।
विहान १० बजेदेखि २ बजेसम्म बैंकमा बस्दा पनि रकम निकाल्न नपाएको उहाँले बताउनुभयो । ''हामी १० बजेदेखि २ बजेसम्म बैंकमा कर्मचारी पर्खियौँ, पर्खिँदा पर्खिँदै २ बजेपछि घर फर्कियौँ'' वाग्लेले भन्नुभयो, ''हाम्रो गुनासो फोन गरेर सीडीओदेखि बैंकका मेनेजरसम्मलाई राख्यौँ, कसैले सुनुवाइ गरेनन् ।''
बैंकमा आज गार्ड र एकजना कार्यालय सहयोगी मात्रै देखिएको उहाँले बताउनुभयो ।
बैंकले एक दिन मात्रै ढिला भए वा किस्ता तिर्न नपाउँदा जरिवाना असुल्ने तर बैंकको लापरबाही वा अन्य कारणले सेवा नपाउँदा ग्राहकले भोग्नुपरेको सास्तीको क्षतिपूर्ति कस्ले दिने ? सेवाग्राही वाग्लेको भनाइ छ ।
बैंकका शाखा प्रमुख महेश मण्डलले भने प्राविधिक समस्या र कर्मचारी बिदामा हुनुपरेका कारण सेवा प्रवाहमा कठिनाई भएको बताउनुभयो । ओखलढुंगाखबरसँगको फोन सम्पर्कमा उहाँले बैंकमा ड्युटीमा रहेको क्यासियर कर्मचारीको बच्चा विरामी भएका कारणले प्राविधिक समस्या आएको उहाँको भनाइ छ ।
शाखा प्रबन्धक मण्डलले आफू विदामा रहेको र बैंकमा कारोबार भए नभएको आफू कार्यालयमा उपस्थित भएपछि मात्रै थाहा हुने बताउनुभयो ।