ओखलढुंगा । आगामी निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिँदै गर्दा नेपाली कांग्रेस ओखलढुंगाको उम्मेदवार टुंगिन सकेको छैन । नेताहरू आ-आफ्नो दाबी सुरक्षित गर्न लबिङमा व्यस्त भएपछि टिकटको विषय अझ पेचिलो बनेको छ । विशेष गरी पूर्व सांसद रामहरि खतिवडाको निरन्तरता वा नयाँ अनुहारको आगमन भन्ने विषयले जिल्लाको राजनीतिलाई तताएको छ ।
हालसम्मको अवस्थालाई हेर्दा ओखलढुंगामा टिकटका लागि मुख्य रूपमा पाँच जना नेताहरू बाला अधिकारी, रामहरि खतिवडा, कुमार लुइटेल, रुद्र अधिकारी र बालकृष्ण दाहालको नाम बढी चर्चामा छ । खतिवडा पुनः टिकट पाउने कसरतमा लागे पनि कतिपयले उनलाई 'होल्ड' गराएर नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताउँछन् । अर्कोथरिले अनुभव र जिल्लाको चुनावी वातावरणलाई हेरेर रामहरिको विकल्प 'रामहरि' नै हुने धारणा राख्दै आएका छन् ।
सुरुवाती चरणमा विशेष महाधिवेशनको विपक्षी टीममा देखिएका खतिवडा पछिल्लो समयमा जता रुख र चारतारे झण्डा उतै आफ्नो उपस्थिति रहने बताउँदै आएका छन् । उनी टिकटका लागि निरन्तर सक्रिय लबिङमा देखिएका छन् ।
कांग्रेसभित्र चलेको चर्चा र स्रोतका अनुसार, यदि खतिवडा चुनावी मैदानबाट पछि हटेको खण्डमा रुद्र अधिकारीलाई विकल्पको रुपमा उनले रोज्न सक्ने कतिपयको आँकलन छ । अधिकारी तिनै नेता हुन् जो विशेष महाधिवेशनमा खुलेरै लागेका थिए । तर अहिलेकै अवस्थामा भने खतिवडा र अर्का नेता कुमार लुइटेलबीच मुख्य टिकट संघर्ष चलिरहेको बताइन्छ । लुइटेलले जिल्लाबाट विशेष महाधिवेशन पक्षधर ओखलढुंगा कांग्रेसको संयोजन पनि गरेका थिए ।
उसो त गगन टीमबाट हालै केन्द्रीय सदस्य निर्वाचित बाला अधिकारी पनि टिकटको मुख्य आकांक्षी हुन् । उनी युवा, महिला र लामो समयदेखिको नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघमा नेतृत्व गरेको अनुभवलाई आधार बनाएर पूर्णकालीन राजनीतिमा उपस्थिति जनाउन चाहन्छिन् ।
प्रजातन्त्र सेनानी संघका अध्यक्षसमेत रहेका बालकृष्ण दाहाल पनि टिकटको लाइनमा छन् । उनी २०६४ सालको निर्वाचनमा कांग्रेसका पराजित उम्मेदवार हुन् । उनी पनि अनुभवका आधारमा आफूले टिकट पाउनुपर्ने धारणा राख्दै आएका छन् ।
कांग्रेसभित्रको टिकट संघर्षमा कतिपयले सुरुवाती चरणमै महाधविशेन पक्षमा खुल्नेहरुले नै टिकट पाउनुपर्ने धारणा राखिरहेका छन् । यो धारणा बलियो रुपमा स्थापित भयो भने टिकटको लाइनबाट खतिवडा 'आउट' हुने सम्भावना छ । तर गगन थापा समर्थित आकांक्षी नेताहरु नै साझा एजेण्डा नबनाई व्यक्तिगतरुपमा टिकट लबिङमा दौडिँदा खतिवडा अहिलेको संभावित उम्मेदवार भएको कांग्रेसका नेताहरुले बताउने गरेका छन् ।