आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेकपा एमाले ओखलढुंगाभित्र असन्तुष्टि सिर्जना भएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर हामीले नेकपा एमालेका केन्द्रीय सदस्य एवं ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारसँग कुराकानी गरेका छौँ ।
ओखलढुंगा एमाले देखिएको पछिल्लो विवाद र घटनाक्रम के हो ? तपाईको प्रतिक्रिया के छ ?
यस्तो बेला चुनौतीपूर्ण घडीमा हाम्रो पार्टी नेकपा एमाले माथि जुन प्रकारको प्रहार भैरहेको छ, यो पार्टी केन्द्रले निर्णय गरिसकेपछि त्यसलाई पालना नगर्नु वा नगर्न खोज्नु वा त्यस बारेमा सार्वजनिक टिका टिप्पणी गर्नु अनुशासन विपरितका कुराहरु हुन् । अब मान्छेलाई आकांक्षाहरु हुन सक्छन् तर त्यो कुरा भनेको पार्टीले व्यक्तिद्वारा संस्थालाई योगदान, संस्थाद्वारा व्यक्तिको मूल्यांकन यो परिपाटीमा हाम्रो पार्टी हुर्केको हो । त्यसो भएकाले यी बाह्य सार्वजनिक रुपमा गरिएका टिका टिप्पणी अनुशासन विपरितका कामहरु हुन्, कारबाहीहरु हुन् । त्यसलाई मैले इन्चार्जको हैसियतले गम्भीरतापूर्वक लिइरहेको छु र पार्टीले पनि लिएको छ ।
ओखलढुंगामा एमालेको टिकट वितरणको विषयमा चाहिँ तपाईको धारणा ?
टिकट वितरणमा व्यक्ति पार्टीको अधिनस्त हुन्छ । तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्त हुन्छ, अल्पमत बहुमतको अधिनस्त हुन्छ । यसकारणले पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय उपर चाहिँ यतिबेला तल्ला कमिटीका व्यक्ति वा तल्ला कमिटीहरुले प्रश्न उठाउने सार्वजनिक रुपमा, त्यो अधिकार छैन । त्यो बेठिक कुरा हो ।
तपाइँलाई त पार्टीले टिकट दिएन नि त्यसमा चाहिँ तपाइँको प्रतिक्रिया ?
म आवश्यकताको आधारमा जिम्मेवारी लिँदै आएको मान्छे हो । अहिलेको सन्दर्भमा मैले अगाडि भने, हाम्रो पार्टीले महिला र जेनजी युवा पुस्ताको मागलाई सम्बोधन गरेर एकपटक फेरि आफूलाई अग्र स्थानमा परिवर्तनको पक्षमा उभ्याएको छ । त्यसो भएकोले अब यहाँ व्यक्तिले पाउनु नपाउनु वा के पायो भन्ने कुरा गौण कुरा हो । सबभन्दा ठुलो कुरा पार्टी निर्णय कार्यान्वयन गर्नु र एमाले ओखलढुंगाले इतिहास रच्ने गरी अगाडि बढ्नु सबै पार्टी सदस्यहरुको दायित्व हो, काम हो, कर्तव्य हो ।