ओखलढुंगा, ६ साउन । ओखलढुंगा सदरमुकामको वडा नं १२ मा रहेको जनहित गुठी र वडा नं ११ को पारस्पारिक गुठी बीचको सम्बन्ध सुधार हुने चरणमा पुगेको छ । दुवै गुठीले सम्बन्ध सुधार गरी मिलेर हिलेजात्रा मनाउने विषयमा सहमति गर्ने तयारी गरेका छन् ।
अघिल्ला बर्षहरुमा हिलेजात्रामा दुवै गुठीबीच कटुता सम्बन्ध देखिँदै आएको थियो । जसका कारण २० वर्षदेखि दुवै गुठीले आ आफ्नो क्षेत्रमा छुट्टाछुट्टै रुपमा हिलेजात्रा मनाउँदै आएका थिए । यसवर्ष भने सम्बन्ध सुधार गरी सदरमुकाम क्षेत्रमा दुवै गुठीले मिलेर हिलेजात्रा देखाउनका लागि दोस्रो चरणको वार्ताले सफलता पाएको जनहित गुठीका अध्यक्ष एवं वार्ता टोलीका सदस्य ध्रुवकुमार राजभण्डारीले जानकारी दिए ।
राजभण्डारीका अनुसार सहमतिका बुँदाहरु मस्यौदा गर्ने कार्य भइरहेकाले यसवर्ष दुवै गुठीबीच सम्झौता गरेर हिलेजात्रा मनाउने योजना रहेको छ । दुवै गुठीले ओखलढुंगा सदरमुकामका सबै क्षेत्रमा हिलेजात्रा प्रदर्शन गर्ने तयारी गरिएको छ । जसका लागि कार्यतालिका बनाएर दुवै गुठीले प्रदर्शन गर्ने बताइएको छ ।
'नाता सम्बन्ध दुवै गुठी सदस्यबीच नजिकको छ, तर हिलेजात्रा मनाउँदा चाहिँ किन बैमनस्य देखाउने भनेर वार्ता थालेका छौँ,' अध्यक्ष राजभण्डारीले भने, 'सबै एक भएर जात्रा मनाउने सबैको कुरा छ ।'
वार्ता टोलीको संयोजकमा जनहित गुठीबाट सुमन राजभण्डारी र पारस्पारिक गुठीबाट पूर्णकुमार श्रेष्ठ रहेका छन् ।