ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाको १९औँ अधिवेशनको दोस्रो बैठक विभिन्न ऐन र नीतिहरू पारित गर्दै शनिबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष उत्तम राईको अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारको प्रमुख आतिथ्यमा बसेको बैठकले पालिकाको विकास, सुशासन र कानुन निर्माणमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।
गाउँपालिकाको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकले सातवटा महत्त्वपूर्ण ऐन, निर्देशिका र नीतिहरू सर्वसम्मतिले पारित गरेको छ । जसमा 'आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८३', 'साना सिँचाइ आयोजना सञ्चालन निर्देशिका २०८३', 'स्थानीय सिँचाइ ऐन २०८३' र 'लैङ्गिक हिंसा निवारण तथा पीडित सहायता ऐन २०८३' रहेका छन् । यसैगरी 'युवा परिषद् ऐन २०८३', 'अपाङ्गता रोकथाम तथा पुनःस्थापना नीति २०८३' र 'मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति २०८३' लाई पनि सभाले स्वीकृत गरेको छ । सहकारीको कार्यक्षेत्रलाई सबै वडामा विस्तार गर्ने गरी सहकारी ऐन २०७५ को पहिलो संशोधन समेत गरिएको छ ।
सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष उत्तम राईले चार वर्षको अवधिमा सडक, शिक्षा, स्वास्थ्य र सुशासनको क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको ५१ करोड ७४ लाख बजेटमध्ये ७५.०१ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि ५० करोड ३० लाख ७६ हजार रुपैयाँको बजेट पहिलो बैठकबाट पारित भइसकेको बताउँदै उहाँले निर्माणाधीन सडक र स्वास्थ्य चौकीहरूलाई समयमै सम्पन्न गर्न बजेट सुनिश्चित गरिएको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथिको रुपमा बोल्दै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले संविधान र कानुनको पालनाले नै लोकतन्त्र बलियो हुने बताउनुभयो । उहाँले ऐन, कार्यविधि र नियमावलीलाई मिचेर अघि बढ्दा व्यवस्था नै कमजोर हुने भएकाले विधिको शासनमा जोड दिनुभयो । ओखलढुंगाको विकासका लागि आफूले विशेष पहल गरिरहेको र प्रदेश सरकारमार्फत मोलुङमा करोडौँका योजनाहरू पारिएको जानकारी दिँदै उहाँले पर्यटन विकासका लागि हलेसी–ओखलढुंगा सडक र थानीढुंगा पदमार्ग जस्ता आयोजनाको महत्त्वमा जोड दिनुभयो ।
गाउँपालिकाले विशेष अनुदान मार्फत प्राप्त १ करोड ५७ लाख रुपैयाँ बराबरका सूचना प्रविधि (ICT) सामग्री ३७ वटा विद्यालयलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामग्रीहरूमा ३७ वटा ल्यापटप, ३६ वटा फोटोकपी मेसिन, १४ वटा स्मार्ट इन्टरक्टिभ बोर्ड, २२ वटा स्मार्ट टिभी र ३७ वटा डेस्कटप कम्प्युटर रहेका छन् । शैक्षिक प्रोत्साहन स्वरूप शिवदुती माध्यमिक विद्यालयकी रश्मिता नेपाल र जेसे माध्यमिक विद्यालयकी सुस्मा परियारलाई जनही २५ हजार रुपैयाँको जेहेन्दार तथा असहाय छात्रवृत्ति र प्रशंसा पत्र प्रदान गरियो । विद्यार्थीहरूले उक्त रकम आफ्नै बैंक खातामा प्राप्त गरेको जानकारी प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद तिम्सिनाले दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले पाहुनाहरूलाई स्वागत गर्दै पालिकाको समग्र विकासमा सबै राजनीतिक दल र सरोकारवालाको साथ आवश्यक रहेको बताउनुभयो । वडा नम्बर ७ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता हेमबहादुर सुनुवारले मन्त्री सुनुवारको कार्यकालमा मोलुङले ठुलो बजेट प्राप्त गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेल, सुरक्षा निकायका प्रमुखहरू र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो । बैठकको समापनसँगै जिल्ला प्रशासन कार्यालयको समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत आयोजना गरिएको थियो ।