ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका १ को मोलीमा रहेको कालीका माध्यमिक विद्यालयको निर्माणाधीन भवन समयमै नबन्दा पठनपाठन प्रभावित बनेको छ । ठेकेदार कम्पनीले विभिन्न बहानामा काम पछि सार्दै गएपछि लामो समयदेखि टीनको टहरोमै विय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
सो विद्यालयको भवन २०७७ साल पुस ९ गते ठेक्का लागेको थियो । भवन गएको असार मसान्तभित्र सकिनुपर्ने भएपनि विभिन्न बहानामा अझै काम सकिएको छैन । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत यो भवनको ठेक्का केसी कन्ट्रक्सनले लिएको छ । भ्याटबाहेक ५ करोड ३९ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको भवनको काम मुख्य ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा लगाएपछि आलटाल बढेको विद्यालयका प्रधानाध्यापक खीलाराज श्रेष्ठले बताउनुभयो । २ वटा भवन, एउटा शौचालय, पर्खाललगायतका संरचना निर्माणको काम ९० प्रतिशत सकिएको ठेकेदार कम्पनीका लागि काम गर्दै आएका सहायक टेक्निसियन गिरीश जिरेलको दावी छ । तर निर्माण सामग्री ढुवानी समस्याको बहानामा निर्माण कम्पनीले काम पछि सार्दै आएको छ ।
यो विद्यालयमा हाल ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन नबन्दा तीन वर्ष अघिदेखि टीनको अस्थायी संरचनामै पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ । कतिपय कक्षामा त विद्यार्थी कोचाकोच गरेर पठनपाठन गरिँदै आएको छ । एउटा कक्षाको आवाजले अर्को कक्षाको पठनपाठन प्रभावित हुँदै आएको छ । टीनको संरचनामा अन्य समस्या पनि उत्तिकै रहेको विद्यार्थी होमकुमारी आलेमगरले गुनासो गर्नुभयो ।
विद्यालय भवनको काम समयमै सम्पन्न नहुनुमा कामको जिम्मा लिने ठेकेदार र समयमै काम नगर्दा पनि चुपचाप म्याद थप्ने कार्यालय दुवै देखिन्छन् । भवन निर्माण पूरा नगरी यसरी वर्षौदेखि पठनपाठन प्रभावित बनाएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाँड गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने स्थानीयको माग छ ।