ओखलढुंगा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ओखलढुंगाको सुनकोसी गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिका भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले उपलब्ध गराएको तथ्यांकअनुसार, सुनकोशी गाउँपालिकाले सर्वाधिक उच्च प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै उत्कृष्ट पालिका बनेको छ।
तथ्यांकअनुसार, सुनकोशी गाउँपालिकाको उत्तीर्ण प्रतिशत ९४ दशमलब ३३ रहेको छ । जहाँ कुल परीक्षा दिएका ३ सय ५३ परीक्षार्थीमध्ये ३ सय ३३ जना उत्तीर्ण भएका छन् । २० जना नन-ग्रेडिङ (NG) मा परेका छन्। सुनकोसी गाउँपालिका अघिल्लो वर्ष पनि एसईईमा उत्कृष्ट बनेको थियो। सुनकोसी गाउँपालिकाका अध्यक्ष कमल तामाङले गाउँपालिकाले शिक्षालाई आधारभूत अधिकारसँगै विकासको मूल आधार मानेर विगत केही वर्षयता विद्यालय सुधार, शिक्षक तालिम, बालमैत्री वातावरण निर्माण र विद्यार्थीको निरन्तर मूल्याङ्कनमा विशेष जोड दिँदै आएको र एसईईको सफलता समग्र शिक्षक, विद्यार्थी, अभिभावक र पालिकाको संयुक्त प्रयासको परिणाम रहेको बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुनकोसी गाउँपालिकाले शिक्षक तालिम, विद्यार्थीका लागि नि:शुल्क कोचिङ, नियमित अनुगमन, अभिभावक शिक्षा, र उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई प्रोत्साहन जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ। यसले गर्दा सुनकोशीले एसईईमा लगातार उत्कृष्ट नतिजा ल्याउन सफल भएको सुनकोशीका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख विवेक तामाङले जानकारी दिनुभयो।
सुनकोशीसँगै चम्पादेवी गाउँपालिका र सिद्धिचरण नगरपालिकाले पनि एसईईमा अब्बल प्रदर्शन गरेका छन्। चम्पादेवी गाउँपालिकाको उत्तीर्ण प्रतिशत ८९ दशमलब ४९ रहेको छ। उक्त पालिकामा ३ सय ३३ परीक्षार्थीमध्ये २ सय ९८ जनाले परीक्षा उत्तीर्ण गरेका छन् भने ३५ जना नन-ग्रेडिङमा परेका छन्। सिद्धिचरण नगरपालिकाको उत्तीर्ण प्रतिशत ८८ दशमलब ९७ रहेको छ। यस पालिकाबाट कुल ३ सय ९९ परीक्षार्थीमध्ये ३ सय ५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सिद्धिचरण नगरपालिकामा ४४ जनाको नतिजा नन-ग्रेडिङ आएको छ।
तथ्यांक अनुसार गाउँपालिकाको उत्तीर्ण प्रतिशत ८६ दशमलब ८३ रहेको छ । यहाँका १ सय ६७ परीक्षार्थीमध्ये १ सय ४५ जना उत्तीर्ण भएका छन् भने ३३ जनाको नतिजा नन ग्रेडिङ आएको छ । एसईईमा लिखु गाउँपालिकाको उत्तीर्ण प्रतिशत ७१ दशमलब ४३ रहेको छ । यहाँका १ सय ९६ परीक्षार्थीमध्ये १ सय ४० उत्तीर्ण भएका छन् ।
मानेभञ्ज्याङ गाउँपालिकामा ७१ दशमलब ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यहाँका ३ सय ८ परीक्षार्थीमध्ये १ सय ९४ उत्तीर्ण भएका छन् । प्रतिशतका आधारमा सबैभन्दा कम परीक्षार्थी उत्तीर्ण खिजीदेम्बा गाउँपालिकामा भएका छन् । खिजीदेम्बा गाउँपालिकामा ५४ दशमलब ९० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । खिजीदेम्बा गाउँपालिकामा परीक्षामा सहभागी १ सय ५३ परीक्षार्थीमध्ये ८४ जनाले मात्रै उत्तीर्ण गरेका छन् । खिजीदेम्बा अघिल्लो वर्ष पनि एसईईमा जिल्लामा सबैभन्दा कम उत्तीर्ण भएको पालिका हो ।
ओखलढुंगा जिल्लाको एसईई उत्तीर्ण प्रतिशत ८१ दशमलब १३ रहेको छ। जिल्लाभर कुल २ हजार ३५ परीक्षार्थीमध्ये १ हजार ६ सय ५१ जनाले परीक्षा उत्तीर्ण गरेका छन् भने ३ सय ८४ जना नन-ग्रेडिङमा परेका छन्