ओखलढुंगा, ८ फागुन । ब्लड क्यान्सरपीडित मोलुङ गाउँपालिका १ कुन्तादेवीका चन्द्रमणि घिमिरेलाई बचाउन ओखलढुंगाका स्वास्थ्यकर्मीले ३ लाख ६ हजार ९ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनीहरुले पीडितका परिवारलाई प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङमार्फत चेक हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पष्पराज पन्तको अगुवाइमा सो रकम संकलन भएको हो । चन्द्रमणि स्वास्थ्यकर्मी भएको नाताले सबै स्वास्थ्यकर्मी मिलेर सहयोग गरिएको पन्तको भनाई छ ।
जिल्लाका २ सय ५ जना स्वास्थ्यकर्मी मिलेर सो रकम सहयोग गरिएको स्वास्थ्यकर्मी मदन कार्कीले बताए । एउटा स्वास्थ्यकर्मी जीवनमरणको दोसाँध रहँदा उहाँलाई थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरिएको कार्कीको भनाई छ ।
पीडितको उपचारको लागि स्वास्थ्यकर्मीहरुले देखाएको सहयोगी भावना र सामुहिकताको प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले प्रशंसा गरे । उनले पछिल्लो समय सहयोग संकलन अभियान बदनामी बनिरहेको बेला बैंकिङ प्रणालीबाट पीडितको खातामै पारदर्शी ढंगबाट सहयोग उठाउने प्रक्रिया प्रशंसायोग्य लागेको बताए ।
ब्लड क्यान्सरपीडित चन्द्रमणि राजधानीस्थिति निजामति कर्मचारी अस्पतालमा उपचाररत छन् । उनलाई बचाउनका लागि देश विदेशबाट समेत सहयोग अभियान चलिरहेको छ । उनको उपचारका लागि आर्थिक सहयो गरिदिन उनका परिवारले अपिल गरेका छन् ।