ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा एक कर्मचारी विगत ५ महिनादेखि आधिकारिक करार सम्झौता बिना नै कार्यरत रहेको खुलेको छ । अघिल्लो आर्थिक वर्षसम्म कोल्ड चेन असिस्टेन्ट पदमा करारमा कार्यरत रहेका विवेककुमार पोखरेलले चालू आर्थिक वर्षको ५ महिना बितिसक्दा पनि नियुक्ति पत्र बिना नै कार्यालयको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका हुन् ।
स्वास्थ्य कार्यालयको सूचना अधिकारीको समेत कार्यभार सम्हाल्दै आएका पोखरेलको कार्य अवधि गत असार मसान्तमै सकिएको थियो । उनी कार्यरत रहेको कोल्ड चेन असिस्टेन्ट पदमा स्थायी कर्मचारी उनी कार्यरत रहनुभन्दा पहिले नै पदपूर्ति भएर आइसकेका छन् ।
स्थायी पदपूर्ति भएसँगै उनको करार सेवा त्यहीबाट सकिनुपर्ने हो । तर त्यहाँ त्यसो भएन । उनी नियुक्ति विनै चालु आर्थिक वर्षको साउनबाट अहिलेसम्म निरन्तर कार्यालयमा उपस्थित भएर सूचना अधिकारी र महत्वपूर्ण प्रशासनिक कामहरु गरिरहेका छन् ।
यस विषयमा विहीबार र शुक्रबार कार्यालयमै पुगेर स्थलगत रिपोर्टिङ गर्दा पोखरेलले आफ्नो नियुक्ति पत्र वा करार नवीकरण भएको कुनै पनि आधिकारिक प्रमाण देखाउन सकेनन् । उनले आफ्नो डकुमेन्ट कार्यालय प्रमुखसँग भएको र अहिले उहाँ विराटनगर गएकाले देखाउन नसकेको दावी गरे । पहिलो दिनको हाम्रो रिपोर्टिङमा आफू प्रशासन शाखा हेर्ने कर्मचारी भएको दाबी गरेका उनले दोस्रो दिनको रिपोर्टिङमा 'कार्यालय सहयोगी' पदमा नियुक्ति भएको हुनसक्ने भन्दै अस्पष्ट जवाफ दिएका थिए । कार्यालयमा टाँगिएको सूचना अधिकारीको नोटिस बोर्डमा भने उनी कम्प्युट अपरेटर उल्लेख गरिएको छ । उनले आफ्नो करार सम्झौता भएको दाबी गरे पनि त्यसको दर्ता-चलानी नम्बर प्रमाणका रुपमा देखाउन अस्वीकार गरे ।

यता कार्यालय प्रमुख मनिषा तामाङको भनाइ र पोखरेलको दाबी समेत फरक देखिएको छ । पोखरेलले डेढ महिनाअघि मात्रै नवीकरण भएको बताएका थिए । कार्यालय प्रमुख तामाङले भने हाम्रो फोन सम्पर्कमा करिब २ महिना अघि नवीकरण भइसकेको दाबी गरेकी छिन् । आधिकारिक कामको सिलसिलामा विराटनगरमा रहेकी तामाङले कागजात पछि उपलब्ध गराउने बताए पनि कार्यालयमा त्यस्तो कुनै प्रमाण भेटिएको छैन ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित नभएका कारण पोखरेलसँग करार सम्झौता हुन नसकेको उक्त कार्यालयका कर्मचारीहरु नै खुलेआम रुपमा बताउँदै आएका छन् । बजेट अभावका कारण मन्त्रालयले सम्झौता नगर्न निर्देशन दिएको अवस्थामा पनि कार्यालय प्रमुखको कुन स्वार्थमा उनलाई प्रशासनिक काम र सूचना अधिकारीको भूमिकामा राखिएको हो भन्ने खोजीको विषय बनेको छ ।
नयाँ विज्ञापन र प्रक्रिया मिच्ने दाउ
कोल्ड चेन असिस्टेन्ट पदमा पोखरेलको म्याद सकिएपछि र सो पदमा स्थायी कर्मचारीको पदपूर्ति भएपछि, अर्को कुनै पदमा उनलाई राख्नुपर्दा अनिवार्य रूपमा पुनः नयाँ विज्ञापन खुलाउनुपर्ने सरकारी प्रावधान छ । कुनै पनि सरकारी निकायले करार सेवामा कर्मचारी भर्ना गर्दा सार्वजनिक सूचनामार्फत प्रतिस्पर्धा गराउनु पर्ने कानुनी व्यवस्था रहेको विज्ञहरू बताउँछन् ।
कार्यालय प्रमुख तामाङकै भनाइलाई आधार मानेर एकछिनका लागि पोखरेलको नियुक्ति भएको मान्ने हो भने पनि नयाँ विज्ञापन गरिएको प्रमाण कार्यालयसँग छैन । एकछिनका लागि पोखरेलकै दावी अनुसार 'कार्यालय सहयोगी' मै नियुक्ति गरिएको मान्ने हो भने पनि उनी अहिले पनि कार्यालयीय डकुमेन्टमा हस्ताक्षर गर्दै आएका छन् ।
त्यसैले कार्यालयका डकुमेन्टहरु थपघट गर्ने काम मिलेमतोमा सजिलै भए पनि नयाँ विज्ञापन गरेर आवेदकको परीक्षा लिएको कामको फेक डकुमेन्ट बनाउन सजिलो नहुने कर्मचारीहरु नै बताउँछन् ।
ब्याक डेटमा नियुक्ति गर्ने कार्यालयको दाउ
प्रशासनिक क्षेत्रमा कुनै पनि कर्मचारीको नियुक्ति वा करार नवीकरण गर्दा अनिवार्य रूपमा कार्यालयको दर्ता वा चलानी किताबमा उल्लेख हुनुपर्छ । तर, स्वास्थ्य कार्यालय रुम्जाटारमा ५ महिनादेखि बिना सम्झौता कर्मचारी कार्यरत रहनु भनेकै 'ब्याक डेट' मा नियुक्ति गर्ने तयारी रहेको स्रोत बताउँछ ।
सामान्यतया, यस्ता विवादित प्रक्रियालाई कानुनी रूप दिन कतिपय कार्यालयहरुले दर्ता वा चलानी किताबको बीच-बीचमा खाली ठाउँ छाड्ने गर्छन् । स्वास्थ्य कार्यालयमा पनि त्यही अवस्था रहेको कर्मचारीहरु बताउँछन् । पोखरेलको हकमा पनि अहिले कुनै प्रमाण देखाउन नसक्नु र कार्यालय प्रमुखले पछि उपलब्ध गराउने भन्नुले उनीहरू बजेटको स्रोत सुनिश्चित भएपछि पुरानै मिति राखेर कागजात तयार पार्ने दाउमा रहेको आशंका गर्न सकिन्छ ।
स्थायी कर्मचारीलाई पाखा : 'अवैध' कर्मचारीलाई सूचना अधिकारीको कमाण्ड
सरकारी कार्यालयमा सूचना अधिकारीको जिम्मेवारी सामान्यतया स्थायी कर्मचारीलाई दिने प्रचलन र नियम छ । तर, स्वास्थ्य कार्यालय रुम्जाटारमा भने कार्यालयमै रहेका अन्य स्थायी कर्मचारीहरूलाई पाखा लगाउँदै करार म्याद सकिएका कर्मचारी विवेककुमार पोखरेललाई सूचना अधिकारीको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको पाइएको छ ।
'हामी यत्रो स्थायी कर्मचारी हुँदा पनि अवैध कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिइनु सरासर गलत हो,' आफ्नो परिचय लुकाउन चाहने कर्मचारीले भने, 'कार्यालयमा हामीमाथि सधैँ हेपाहा प्रवृत्ति भइरहेको छ ।'
नियमतः कार्यालयमा सूचना अधिकारी तोकिएपछि वा परिवर्तन गरिएपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय र सरोकारवालाहरुलाई दिनुपर्ने हुन्छ । कार्यालयमा त्यससम्बन्धी सूचना टाँस गर्नुपर्ने हुन्छ । तर कार्यालयमा पनि पोखरेललाई नै सूचना अधिकारी लेखेर टाँस गरिएको छ ।

के भन्छ त प्रदेश स्वास्थ्य मन्त्रालय
हामीले रिपोर्टिङको शिलशिलामा अनुगमनमा रुम्जाटार आइपुगेका कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेसँग पनि भेट्यौँ । स्वास्थ्य कार्यालयमा कर्मचारीलाई नियुक्ति नदिइएको विषय आफूलाई जानकारी नभएको र त्यसबारे जानकारी लिएर मात्रै बताउन सक्ने उनले जानकारी दिए ।