काठमाडौ, २६ मंसीर युवा उद्यमशीलता विकासमा लिखु जलाधार क्षेत्रलाई आधार ईलाका बनाइ लिखु जलाधार कृषि सभ्यता अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत कृषि क्षेत्रको व्यवसायिक विकास गर्न राष्ट्रिय कृषि उद्यम विकास कम्पनी तथा लिखु एग्रिकल्चर नेपाल जे.भी. र चीनको तिब्बत खुन्हा कृषि विकास कम्पनी लि. तथा खुन्हा एक्सपोर्ट इम्पोर्ट प्रा.लि. नेपालबीच समझदारीपत्रमा त्रिपक्षीय हस्ताक्षर भएको हो ।
काठमाडौमा एक समारोहबीच जे.भी.को तर्फबाट अध्यक्ष लोचन बस्नेत, खुन्हा कृषि विकास कम्पनीको तर्फबाट मेनेजर जो वायु र खुन्हा एक्सपोर्ट इम्पोर्ट प्रा.लि.को तर्फबाट मेनेजर भक्त बा. श्रेष्ठले समझदारीमा हस्ताक्षर गर्नुभयो । यसै उद्देश्यका लागि केही हप्ताअघि जे.भी. र राष्ट्रिय युवा परिषद नेपालबीच पनि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जे.भी.का अध्यक्ष बस्नेतले बताए ।
लिखु जलाधार क्षेत्रमा सञ्चालन हुने कार्यक्रमबाट जलाधार क्षेत्रमा पर्ने सोलुखुम्बु, रामेछाप र ओखलढुंगा जिल्लाका आठवटा स्थानीय तहका सत्तरीवटा वडाहरुमध्ये चालीसवटा वडाहरु पहिलो र ३० वटा वडाहरु दोस्रो लाभग्राहीको रुपमा करीब पचास हजार घरधुरीले प्रत्यक्ष लाभ पाउने जानकारी हस्ताक्षर समारोहमा दिइयो । यस अभियान अन्तर्गत जलाधार क्षेत्रका हरेक वडाका किसानहरुलाई किसान परिचयपत्र प्रदान गर्ने, किसानहरुको व्यवसायिक संगठन विस्तार गर्ने, वातावरणमैत्री, लागतमैत्री, भूगोलमैत्री उन्नत कृषि प्रविधि तथा कृषि सामग्रीहरुको पहुँच बढाएर उद्यमी किसानहरुको वार्षिक आम्दानी सरकारी अधिकृतसरहको बनाउने लक्ष्य लिइएको अध्यक्ष बस्नेतले बताए ।
निजीक्षेत्रबाट जे.भी.ले पहल लिने यस अभियानमा स्थानीय निजी उद्यमी, सबै तहका सरकारी निकायहरु, सहकारी, बैंकिङ तथा वित्तीय संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी र सहयोगहरु जुटाइ विकास आयोजनाहरु सञ्चालन गरिने जे.भी.का प्रमुख कार्यकारी अधिकृत अर्जुन भट्टले बताए । अभियानले गुणस्तरीय र प्रमाणित मल, बीउ, विषादी, विरुवा, पशुपंक्षी नश्ल, प्रविधि, वीमा, वित्तीय सेवा, मेसिन तथा औजारहरु, उद्योग स्थापना, बजारीकरण तथा आयात,
निर्यात, ढुवानीलगायतका सम्पूर्ण कृषि सेवाहरु एउटै ढोकाबाट प्रवाह गर्ने बताइयो ।
अभियान सञ्चालनको एक दशकभित्र लिखु जलाधार क्षेत्रमा कृषि सभ्यता सम्पदाको रुपमा कृषि शहरीकरण, कृषि उद्योगग्राम, कृषि साक्षरता शहर, कृषि व्यवस्थापन कलेज, कृषि आविष्कार स्कुल, अर्गानिक भिलेज, सजीव कृषि संग्रहालय, कृषि मनोरञ्जन केन्द्र, कृषि होमस्टे तथा फार्मस्टेलगायतका कृषि पर्यटन गन्तव्य, कृषि साहित्य तथा सांस्कृतिक केन्द्र, विचार बैंक, आधुनिक सुविधासहितको सूचना प्रविधि केन्द्र जस्ता पुर्वाधारहरु स्थापित भइक्ने परिकल्पना राखिएको अभियानका मुख्य अवधारणाकार बिर्ख छेत्रीले बताए । यसका साथै आधार ईलाका क्षेत्रमा स्थापित भएका ज्ञान, सीप, प्रविधि, पुँजी, जनशक्ति आदिलाई क्रमशः देशका अन्य जलाधार क्षेत्रमा विस्तार गर्दै लगिने लक्ष्य रहेको जानकारी छेत्रीले दिए ।