ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकामा रहेको लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत करोडौं रकम खर्च भएको देखिएको छ । आयोजना निर्माण गर्दा प्रबर्द्धक कम्पनी ग्रीन भेन्चर्सले सामुदायिक सहयोग कार्यक्रममा २ करोड १८ लाखबढी रकम खर्च गरेको विवरण गाउँपालिकामा पेश गरेको हो ।
तर उक्त विवरणमा स्थानीय बासिन्दा भने असन्तुष्ट देखिएका छन् । करोडौँ खर्च हुँदा पनि काम नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
ग्रीनभेन्चर्स कम्पनीले गाउँपालिकालाई उपलब्ध गराएको विवरण अनुसार आयोजना प्रभावित स्थानीय सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत वडा नं १ मा ८४ लाख ९८ हजार ९ सय ३३ रुपैयाँ, वडा नं २ मा ४४ लाख १ सय ३९ रुपैयाँ, वडा नं ३ मा ८६ लाख ५५ हजार ६ सय ७६ रुपैयाँ र गाउँपालिकाको माग अनुसार ३ लाख २५ हजार रुपैयाँ खर्च भएको देखिएको छ ।
सुरुङ निर्माणका कारण पानीको मुहान सुकेको, सडक कालोपत्रे नगरिएको र वातावरणीय प्रभाव मूल्यांकन (EIA) अनुसार शिक्षा तथा स्वास्थ्यमा प्रत्यक्ष लगानी नभएको र खर्चमा अष्पस्टता गरेको भन्दै स्थानीयबासीहरुले गएको वैशाख २६ गते गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका थिए । स्थानीयको असन्तुष्टि बढेपछि खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले खिजीदेम्बा गाउँपालिकाबाट ग्रीन भेन्चर्सलाई पत्र काटेका थिए ।
गाउँपालिकाले गएको वैशाख १० गते निर्णय कार्यान्वयनको अवस्थासहित यथार्थ विवरण माग गरेको थियो । गाउँपालिकाले सो पत्रमा स्थानीय सरकार, जनप्रतिनिधि र समुदायसँग आयोजनाले गर्नुपर्ने नीतिगत सहमति, सामाजिक उत्तरदायित्व (CSR), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) महासन्धी १६९ को पालना, सार्वजनिक सुनुवाइ, जग्गा क्षतिको सूचना, रोयल्टी तथा राजस्व भुक्तानी, जैविक विविधताको संरक्षण र स्थानीयको रोजगारी तथा पारदर्शिताको अवस्थाबारे जवाफ मागेको थियो ।
कम्पनीले तीन हप्ताभित्र विवरण दिने ईमेल गरे पनि अन्तिम समयसम्म विवरण नबुझाएपछि गाउँपालिकाले पुनः ७ दिने अल्टिमेटम दिँदै कम्पनीका प्रतिनिधिलाई कागजातसहित अनिवार्य उपस्थित हुन ताकेता गरेको थियो ।
गाउँपालिकाको पत्रको जवाफ दिँदै ग्रिन भेन्चर्स कम्पनीले आफूले प्रचलित कानुन बमोजिम नियमनकारी निकायमा रोयल्टी तिर्दै आएको र स्थानीयलाई अपनत्व दिलाउन १० प्रतिशत (रु ३१ करोड २५ लाख) को सेयर वितरण गरिसकेको दाबी गरेको छ । त्यस्तै, रोजगारीको हकमा स्थानीयलाई योग्यता र क्षमताका आधारमा प्रत्यक्ष रोजगारी दिएको र सडक निर्माण तथा मर्मतमा ठूलो धनराशि खर्च भइरहेको कम्पनीको जवाफ छ । कम्पनीले ११ बुँदामा जवाफ फर्काएको छ भने सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत शीर्षकगत रुपमा विवरण उपलब्ध गराएको छ । कम्पनीले सामुदायिक सहयोग कार्यक्रमको बजेट प्राप्त गर्ने व्यक्तिको विवरण समेत खुलाएर पत्राचार गरेको छ ।
ग्रीन भेन्चर्सबाट गाउँपालिकाको पत्राचारको जवाफ उपलब्ध भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले ओखलढुंगाखबरलाई जानकारी दिनुभएको छ । उहाँले स्थानीय बासिन्दाको छलफलका आधारमा गाउँपालिकाका तर्फबाट थप प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
यो पनि पढ्नुहोस्
हेरौँ लिखु ४ जलविद्युत आयोजनाको जवाफ








