ओखलढुंगा, २ जेठ । मोलुङ गाउँपालिकामा आज मात्रै १३ जना कोरोना संक्रमित थपिए । पीसीआर विधिबाट गरिएको ५८ जनाको स्वाब परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन् । आज फेला परेका संक्रमितहरु वडा नं २ का ८ जना, वडा नं ५ का ३ जना, वडा नं ४ का १ जना र वडा नं ३ का १ जना रहेका छन् ।
आज मात्रै नभएर मोलुङमा दिनहुँजसो संक्रमित फेला परिरहेका छन् । आजसम्म संक्रमित संख्या २८ पुगिसकेको छ । यसरी दिनहुँ कोरोना संक्रमित संख्या बढिरहँदा पनि कोरोना संक्रमण रोकथामका लागि गाउँपालिकाले ठोस निर्णय नलिएको भन्दै जनगुनासो बढिरहेको छ ।
सोही सन्दर्भमा गाउँपालिका अध्यक्ष मणिराज राई भोलि सोमबार गाउँपालिकाका वडाअध्यक्षहरुसहितको गाउँ कार्यपालिका बैठक बस्न लागिएको बताउँछन् । 'थप मापदण्डहरु बनाएर पालना गराउनुपर्ने देखिएको छ,' अध्यक्ष राई भन्छन्, 'त्यसैले भोलि बैठक बस्दैछौँ ।'
गाउँपालिकासँग 'पल्स अक्सिमिटर' नै छैन
कोरोनाको भयाबह अवस्था सिर्जना हुनु अघि नै सबै कुराको जोहो हुनुपर्ने हो । तर मोलुङ गाउँपालिकामा एउटा पनि 'पल्स अक्सिमिटर' छैन । 'पल्स अक्सिमिटर' को काम संक्रमितको अवस्था गम्भीर वा सामान्य पत्ता लगाउने हो । आँखाले हेरेको भरमा कोरोनाका विरामीको अवस्था पत्ता लाग्दैन । यसले औँलामा चेपेपछि विरामीको रगतमा अक्सिजनको मात्रा पत्ता लाग्ने चिकित्सकहरु बताउँछन् ।
बजारमा १ हजारदेखि माथि छ्यापछ्याप्ती 'पल्स अक्सिमिटर' पाइन्छ । तर पनि गाउँपालिकाले 'पल्स अक्सिमिटर' जोहो गरेको छैन । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक वेदहरि दाहालले मोलुङका कुनै पनि स्वास्थ्य संस्थामा 'पल्स अक्सिमिटर' नभएको स्वीकारे । 'बजारमा खासै किन्न पाइएन,' संयोजक दाहालले भने, 'गाउँपालिकाले भर्खरै ईबिडिङमा १४ वटा अक्सिमिटर खरिदका लागि नोटिस निकालेको छ ।'
यसका अलवा गाउँपालिकाले ३ वटा ५ लिटरको अक्सिजन बनाउने 'कनसल्टेटर' खरिद प्रक्रिया अगाडि बढाएको दाहालको भनाई छ । कोभिड अस्पताल रामपुरमा २ वटा 'कनसल्टेटर' रहेको छ ।