ओखलढुंगा, ८ जेठ । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाले ५ शैय्याको आइसालेसन निर्माण गर्ने भएको छ । महासंघको शुक्रबार बसेको भर्चुअल (जुम) बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महासंघको भवनमा पत्रकारका लागि पाँच शैय्याको आइसोलेसन बनाउने निर्णय गरेको हो ।
महासंघका सचिव पूर्णप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणसंग जुध्दै सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको जोखिम व्यवस्थापनका लागि आइसोलेसन बनाउने निर्णय भएको जानकारी दिएका छन् । जिल्लामा क्रियाशिल पत्रकारहरु संक्रमित भएमा महासंघले तयार पारेको आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने जानकारी दिइएको छ ।
बैठकले तत्काल पाँच लाख बराबरको ‘पत्रकार सहायता कोष’ स्थापना गर्ने समेत निर्णय गरेको छ । ‘पत्रकारको स्वास्थ्योपचार एवम् भैपरि आउने आपतिकालिन अवस्थामा सहयोग गर्न शाखामा ५ लाख बराबरको पत्रकार सहायता कोष स्थापना गर्ने । पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापित उक्त कोषमा सहयोग गर्न सबैसँग अपिल गर्ने निर्णय गरियो ।’ महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कोष स्थापनार्थ महासंघका पदाधिकारीबाट रु. १ एक लाख ५ पाँच हजार रकम संकलन समेत भइसकेको छ ।
शाखाका अध्यक्ष लाक्पा जी शेर्पाको अध्यक्षता तथा केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीको विशेष उपस्थितीमा बसेको बैठकले कोरोना भाइरसको महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव, श्रमजीवी पत्रकारका समस्या र कोभिड संक्रमणले जिल्लाका आम नागरिकमा पारेको असरका विषयमा नागरिकको अगुवा संस्थाको रुपमा छलफल गरेको थियो । पत्रकारको पेशागत र सञ्चारमाध्यमको व्यवसायिक संकट व्यवस्थापनका लागि महासंघले जिल्ला स्थित स्थानीय तह, संघ–सस्था, सरकारी कार्यालय लगायतसँग समन्वय गर्ने पनि निर्णय गरेको छ ।
महांघले जिल्लामा जिल्लामा रातिको समयमा दर्जनौको संख्यामा नागरिकहरु बिना रोकतोक स्वास्थ्य परिक्षण नगराई जिल्ला प्रवेश गर्ने क्रम बढ्दा जोखिम बढेको भन्दै प्रशासनको ध्यानाकर्षण गराउने निर्णय भएको छ । नागरिकको स्वास्थ्य सेवा सुलभ र सहज पाउने अधिकारको सुनिश्चित गर्न, कोभिडका बिरामीलाई आवस्यक पर्ने स्वास्थ्य सेवा, आइसोलेसन, अक्सिजन र उचित स्वास्थोपचारको प्रबन्धका गर्न माग समेत गरेको छ ।
पत्रकार महासंघले भोली जेठ ९ गते जिल्लास्थित सरोकारवाला निकायसँग जिल्लामा कोभिड नियन्त्रणका लागि भइरहेको पहल र आगामी योजनाबारे भर्चुअल (जुम) बैठक गर्ने समेत निर्णय गरेको छ ।