ओखलढुंगा – देशभर सवारी सेवा प्रदान गर्दै आएको स्पार्क कारले यस वर्षको साहसिक यात्रा ‘स्पार्क एड्भेञ्चर २०२५’ आयोजना गर्न लागेको छ। "गेटवे टु एभरेष्ट" भन्ने थिममा वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको मनमोहक पर्यटकीय स्थल गौरीटाप, पत्ताले र ओखलढुंगाको रुम्जाटारमा तेस्रो संस्करणको यो यात्रा आयोजना हुने भएको हो।
स्पार्क कारका निर्देशक सिताराम घिमिरेका अनुसार, दुई सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। सहभागीहरू सरकारी तथा गैरसरकारी निकायका उच्चपदस्थ अधिकारी, व्यवसायी, कलाकार, पत्रकार र पर्यटनकर्मी रहने छन्।
समुद्री सतहबाट ३,००० मिटरको उचाइमा अवस्थित गौरीटाप, नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमामा पर्छ। धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण यस स्थानबाट सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला हिमशृंखलाहरूको अवलोकन गर्न सकिन्छ। लालीगुँरासको घना जंगल र गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्गालगायत हिमशिखरहरू यस क्षेत्रको विशेष आकर्षण हुन्।
कार्यक्रमको पहिलो दिन, सहभागीहरू काठमाडौँदेखि गौरीटापसम्म विद्युतीय सवारीमा यात्रा गर्दै त्यहाँ टेन्ट क्याम्पमा रात बिताउनेछन्। स्थानीय संस्कृति र रैथाने खानाको स्वादसहित प्रकृतिमा रमाउने अवसर पाइनेछ। दोस्रो दिन बिहान सुनौलो हिमश्रृंखला हेरेर रुम्जाटार पुगिनेछ, जहाँ सांगीतिक कार्यक्रमसहित स्थानीय संस्कृतिमा सहभागी हुने कार्यक्रम छ। राति होमस्टेमा बस्ने व्यवस्था गरिएको छ। तेस्रो दिन सबै सहभागीहरू काठमाडौँ फर्किनेछन्।
स्पार्क एड्भेञ्चर संयोजक अमरदीप भट्टराईका अनुसार, यो यात्राले ओझेलमा परेका तर सम्भावनायुक्त गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। अघिल्ला संस्करणहरूमा लमजुङको भुजुङ र शैलुङमा कार्यक्रम सम्पन्न भइसकेका छन्।
साहसिक पर्यटनसँगै सवारी सेवा प्रदान गर्दै आएको स्पार्क कारले, यात्रीहरूलाई सेल्फ-ड्राइभ वा ड्राइभरसहित देशभर सवारी साधन सेवा दिँदै आएको छ।
यो रोमाञ्चक यात्रा पर्यटन प्रवर्द्धनसँगै प्रकृति, संस्कृति र प्रविधिको उत्कृष्ट संयोजन सावित हुने अपेक्षा गरिएको छ।