ओखलढुंगा । युगकवि सिद्धिचरण प्रतिष्ठानले वर्ष २०८२ को 'युगकवि सिद्धिचरण पुरस्कार' साहित्यकार डा. दुर्गाबहादुर सुवेदी क्षेत्री (डा. दुबसु क्षेत्री) लाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाद्वारा जारी प्रेस विज्ञप्तिमा यो जानकारी गराइएको हो।
प्रा.डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा प्रा.डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य रहेको त्रिसदस्यीय प्रतिभा छनोट समितिको सिफारिसमा डा. क्षेत्रीलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
साहित्यकार, अनुसन्धाता एवम् विभिन्न संस्थाका संस्थापक डा. क्षेत्रीले युगकवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित 'भीमसेन थापा' खण्डकाव्यको प्रकाशन, संवाद लेखन गरी नाटकीकरण र बेलायतलगायतका देशहरूमा मञ्चन, तथा युगकविका कविताहरूको अङ्ग्रेजी र जापानी भाषामा अनुवाद गरी प्रकाशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
यसका साथै, उनले तीन दर्जनभन्दा बढी मौलिक सिर्जनात्मक तथा अनुसन्धानात्मक कृति, तीन दर्जनभन्दा बढी सम्पादित कृति, एक दर्जनभन्दा बढी अनूदित कृति र दुई दर्जन सङ्घसंस्थाहरूको स्थापना र नेतृत्वमार्फत नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ।
नगद एक लाख रुपैयाँसहित स्मृतिचिह्न र सम्मानपत्र रहेको यो पुरस्कार आगामी जेठ ९ गते युगकविको ११४ औं जन्मजयन्तीको विशेष समारोहमा डा. दुबसु क्षेत्रीलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।
युगकवि सिद्धिचरण प्रतिष्ठान नेपाली भाषा साहित्यको उन्नयन गर्ने उद्देश्यले २०४२ सालमा स्थापित साहित्यिक संस्था हो र यो संस्थाले हरेक वर्ष युगकविको जन्मजयन्तीको अवसरमा विशिष्ट प्रतिभालाई यो पुरस्कार प्रदान गर्दै आएको युगकवि सिद्धिचरण श्रेष्ठका सुपुत्र तथा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिनुभयो ।