ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं. ६, भदौरेका नागरिकहरूले राज्यले सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै आगामी निर्वाचनमा 'नो भोट' को तयारी थालेका छन् । विगत केही महिनादेखि यस क्षेत्रमा श्रृंखलावद्ध विभत्स हत्या र लुटपाटका घटनाहरू बढ्दै गएको र पछिल्लोपटक हत्या गरिएका राई दम्पती हत्यामा संलग्नहरू कानुनी दायरामा नआएको भन्दै स्थानीयले निर्वाचन बहिस्कार गर्नेसम्मको निर्णय लिएका हुन् ।
गएको मंगलबार वडा अध्यक्ष बलराम कटवालको अध्यक्षतामा बसेको आम भेलाले हत्यामा संलग्न कानुनी दायरामा नआए फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदान नगर्ने र कुनै पनि राजनीतिक कार्यक्रम गर्न नदिने निर्णय गरेको छ । भेलाले व्यक्तिगत भेटघाट बाहेकका सामूहिक सभा, जुलुस र चुनावी अभियानमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । यद्यपि, उक्त 'नो भोट' को निर्णयमा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिले भने फरक मत राखेका छन् ।
भदौरे क्षेत्रमा बढेको असुरक्षाका कारण नागरिकहरू रातको समयमा घर छोडेर सामूहिक रूपमा बस्न बाध्य छन् भने कतिपयले गाउँ नै छोडिसकेका छन् । यो भयावह स्थितिलाई मध्यनजर गर्दै भेलाले सन्तोष काजी कार्कीको संयोजकत्वमा पीडित परिवारसहितको २५ सदस्यीय 'संघर्ष समिति' र २० सदस्यीय 'वडा स्तरीय मूल सुरक्षा दल' समेत गठन गरेको छ । स्थानीय आफैँ रात्रिकालीन गस्तीमा खटिने र वडा कार्यालयले यसको आर्थिक तथा भौतिक व्यवस्थापन गर्ने सहमति भएको छ ।
स्थानीयले आफ्ना मागहरू सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिँदै निशंखे प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गर्न, भदौरेमा स्थायी प्रहरी पोष्ट खडा गर्न र कालीबेली रिपा क्षेत्रमा सुरक्षा चेकपोष्ट राख्न समेत माग गरेका छन् ।
साथै, जघन्य अपराधमा संलग्नहरूलाई 'रेयर अफ रेयरेस्ट' सिद्धान्तका आधारमा मृत्युदण्डको व्यवस्था हुने गरी कानुन संशोधन गर्न समेत संघीय संसदको ध्यानाकर्षण गराइएको छ । गाउँका मुख्य चोकहरूमा तत्काल सडक बत्ती र सीसीटीभी क्यामेरा जडान गरी निगरानी बढाउन पनि उनीहरूले जोडदार माग गरेका छन् ।