ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाले सूर्य चिन्ह लिएर निर्वाचित भएका तीन जना वडाध्यक्षलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । मोलुङ गाउँपालिका १ का वडाध्यक्ष कमलबहादुर बानियाँ, सोही गाउँपालिकाका वडा नं ६ का वडाध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका ७ का वडाध्यक्ष सुरेशकुमार थापालाई स्पष्टीकरण सोधिएको हो ।
एमालेको झण्डामुनि रहेर जनतासँग मत मगेर निर्वाचित हुने तर अहिले जनमत र पार्टीप्रति घात गर्ने कार्य अस्वीकार्य हुने भएकाले २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले ओखलढुंगाका नवनियुक्त जिल्ला संयोजक हर्कबोल राईले जानकारी दिनुभयो । आज ओखलढुंगा सदरमुकाममा पत्रकार भेटघाटका क्रममा एमाले नेताहरुले पहिलो चरणमा २४ घण्टे स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिएका थिए ।
यस्तै एमाले ओखलढुंगाले अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमल न्यौपाने र अशोक थापालाई पार्टीबाट निष्काशन गरेको छ । अन्य नेताहरु इच्छाकुमारी गुरुङ, उमेश कार्की र राजीव कट्वाललाई पनि स्पष्टीकरण सोधिएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिनुभयो ।
नेता अम्बिरबाबु गुरुङले टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएपछि उनीसँगै खुल्ने नेता तथा वडाध्यक्षहरुलाई निष्काशन र स्पष्टीकरण सोधिएको हो ।
पार्टीका पदाधिकारीहरुले सामुहिक राजीनामा दिएर पार्टी नेतृत्वविहीन बनाउन खोजेको भनिए पनि पार्टीबाट ९ जनामात्र बाहिरिएको दावी संयोजक राईको छ ।
एमालेबाट ओखलढुंगामा उम्मेदवार बनेकी अस्मिता थापालाई एमाले नेताहरुले जेनजी पुस्ताकी युवा, लोकप्रिय र कुनै दाग नलागेकी उम्मेदवार भएकाले पार्टीले सकारात्मक एजेण्डामार्फत जनताको विश्वास जित्ने बताएका थिए । साथै ओखलढुंगेली जनतालाई उनीहरुले उम्मेदवार थापालाई भारी मतले विजय गराउन समेत अनुरोध गरेका थिए ।