ओखलढुंगा । आइतबार रातिदेखि ओखलढुंगामा मिडियाको नाममा खुलेका केही फेसबुकबाट एउटा सामग्रीमा धेरैको ध्यान केन्द्रित हुन्छ । त्यो सामग्री थियो- मानेभञ्ज्याङ गाउँपालिका २ मा भएको भनिएको घटनासँग सम्बन्धित ।
त्यो पोष्टमा 'ठूलचौर गाउँ र धागेरीचौर गाउँ' मा केही अपरिचित व्यक्तिहरुले मुख छोपेर स्थानीयको घरमा नसोधी पसेको, घरको खानेकुरा खाएको र घरधनीले ठूलोस्वर गर्न खोज्दा किन कराउनु भएको भनेर भनेको र घरधनीले रुँदै गाउँलेहरुलाई गुहारेको कुरा उल्लेख छ । पोष्टमा अनुहार छोपेका २ जना मानिसहरुको तस्बिर एआईबाट बनाएर अट्याच गरिएको छ । उक्त सामग्री 'ओखलढुंगा समाचार' नामक गैरमिडिया ग्रुपमा युनिक कार्कीले पोष्ट गरेको देखिन्छ ।

पोष्टबारेमा कुनैपनि सत्यता नभएको र स्थानीयको गुनासो पनि रेकर्डमा नआएको ओखलढुंगामा प्रहरी प्रमुख मदन केसी बताउँछन् । स्थानीय तथा पूर्व वडाध्यक्ष उमेश कार्कीले पनि उक्त पोष्टबारे फेसबुकमा गलत सूचना भएको लेखेका छन् ।
यही विषयलाई लिएर चम्पादेवीको एक विद्यालयमा कार्यरत शिक्षक चन्द्र राईले उक्त घटनालाई आफ्नो व्यक्तिगत फेसबुक पेजमा पोष्टमार्फत तथ्यगत बनाउन खोजे । राईले त्यो सामग्री 'ओखलढुंगाखबर' ले नै लेखेको पोष्टमा दाबी गरिदिए । घटना गलत हो भने कारबाही गर्नुपर्ने पनि उक्त पोष्टमा लेखिदिए । उनको पोष्टसँगै सोही माथिको सामग्री स्क्रिनसट गरेर अट्याच गरिदिए ।
ओखलढुंगाखबरको नाम जोडिदिएपछि धेरैले उक्त सामग्रीमा विश्वास गरेको देखिन्छ । यो समाचार तयार गर्दासम्म राईको फेसबुकमा ५ सय ५ लाइक, १५ कमेन्ट र ४२ पटक शेयर भएको छ । धेरैजना उक्त सामग्री ओखलढुंगाखबरले नै लेखेको हो भनेर झुक्किएको देखिन्छ । केहीले ओखलढुंगाखबरले लेखेको होइन भनेर कमेन्टमा लेखेका छन् । २१ घण्टा अगाडि थगेन्द्रराज राईले पोष्टकर्तालाई सजग गराएको देखिन्छ । त्यस्तै पासाङ ल्हामु शेर्पाले ओखलढुंगाखबरले सम्प्रेषण गरेको समाचार होइन भनेर लेखेको देखिन्छ ।
कमेन्टमार्फत ओखलढुंगाखबरका पाठकले तत्कालै सुझाव दिए पनि ती शिक्षकले पोष्टलाई सुधार गर्नुपर्ने कुनै औचित्य देखेनन् । त्यसको एउटै कारण थियो- लाइक र भ्यूज । फेसबुक पोष्टमा लाइक र भ्यूज प्राप्त गर्न पोष्ट गर्ने ती शिक्षकलाई हामीले ओखलढुंगाखबरबाट सम्पर्क पनि गर्यौँ । ती शिक्षकले गल्ती भएको स्वीकार गरे । अनि अहिले पोष्ट सुधार गरेका छन् ।
लाइक र भ्युजकै लागि अहिले मिथ्या सूचना फैलाउने चलन बढिरहेको छ । अझ मिडियाकैजस्तै नाम र लोगो बनाएर समाचार शैलीकै मिथ्या सूचना प्रवाह गर्ने चलन पनि ओखलढुंगामा बढिरहेको छ । यसलाई ओखलढुंगामा रोक्नु जरुरी भएको छ ।