ओखलढुंगा । कुनै समय ५०० जनालाई रोजगारी दिने र करोडौँको कारोबार गर्ने एक सफल नेपाली व्यवसायी नामगेल शेर्पाको जीवनले अनपेक्षित मोड लिएको छ । अहिले उनी ओखलढुंगाको रुम्जाटार जाने सडक किनारमा गिटी कुटेर आफ्नो गुजारा चलाइरहेका छन् । करोडौँको व्यापारबाट शून्यमा झरेर पनि जीवनप्रतिको सकारात्मक दृष्टिकोण र हाँस्दै सङ्घर्ष गर्ने उनको कथा प्रेरणादायी छ ।
नामगेल शेर्पाले २०५६ सालमा 'द क्रिएटिभ डिजाइनर्स' नामक गलैँचा कम्पनी सुरु गरेका थिए । गलैँचा व्यवसायमा उनले २० वर्षको अनुभव सङ्गालेका थिए । २०५० को दशकमा उनी एक कम्पनीमा म्यानेजरका रूपमा काम गर्थे । त्यही बेला उनले जर्मनीको एक ठूलो कम्पनीसँग वार्षिक करिब १८ करोडको व्यापार सम्झौता गर्ने मौका पाए । तर, कम्पनीका सञ्चालकहरूले यति ठूलो कारोबार धान्न सक्दैनौँ भनेर पछि हटेपछि उनले आफ्नो जागिरबाट राजीनामा दिए ।
यस घटनापछि उनले आफैँ व्यवसाय सुरु गर्ने निर्णय गरे । आफ्नो प्रोभिडेन्ट फन्डबाट जम्मा गरेको करिब ७०-८० हजार रुपैयाँ र एक जना साथी किशोर सुब्बासँग मिलेर बराबरी लगानीमा व्यवसाय सुरु गरे । सुरुमा पैसाको अभाव भए पनि उनको राम्रो गुडविलका कारण उनले धागो तथा कपास उधारोमै ल्याएर काम सुरु गरे । यसरी कामदारलाई अग्रिम भुक्तानी दिएर उनले उत्पादनको काम अगाडि बढाए ।
व्यवसाय सुरु गरेको पहिलो वर्षमै नामगेलले १३ लाख रुपैयाँ नाफा कमाए । उनको मेहनत र लगनका कारण दोस्रो वर्ष ४०-४५ लाख र तेस्रो वर्ष ७०-८० लाख रुपैयाँ नाफा भयो । त्यसपछि उनको कम्पनीले हरेक वर्ष करोडौँको कारोबार गर्न थाल्यो ।
गलैँचा उत्पादन उत्कर्षमा पुग्दा नाम्गेलका २ वटा कम्पनी भइसकेका थिए । उनले एउटा कम्पनी आफूसँग साझेदार गर्ने साथीलाई जिम्मा लगाए । एउटा भने आफ्नै स्वामित्वमा राखे ।
उनको कम्पनीको सबैभन्दा ठूलो विशेषता भनेको नयाँ डिजाइन र कलर कम्बिनेसन थियो । जर्मनी, स्पेन र अमेरिकाका बजारले कस्तो रङ र डिजाइन खोजिरहेका छन् भन्ने कुरा अध्ययन गरेर उनी नयाँ-नयाँ डिजाइन तयार गर्थे । यसै कारणले विदेशी ग्राहकहरू उनीसँग प्रभावित थिए । उनको नामले नै विश्वबजारमा उनको पहिचान बनाएको थियो । 'नामगेल शेर्पा नेपाल' भन्नेबित्तिकै उनको काम र गुडविलको चर्चा हुने गर्थ्यो ।
करोडौँको मालिक हुँदा उनको काठमाडौँमा २८ आना जग्गामा एउटा बंगला थियो । उनले आफ्ना तीन छोरालाई मासिक ५०-६० हजार रुपैयाँ शुल्क तिरेर काठमाडौँको महँगो स्कुलमा पढाएका थिए । त्यस समयमा उनी आफ्नै कार चढेर हिँड्थे । उनलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले समेत थप व्यवसाय विस्तारका लागि ऋण लिन प्रस्ताव गरेको थियो, तर उनले आफूसँग पर्याप्त पैसा भएको भन्दै ऋण लिन आवश्यक ठानेनन् ।
२०६२-६३ को आन्दोलन र माओवादी द्वन्द्वका कारण उनको व्यवसायमा अचानक सङ्कट आयो । जर्मनी, स्पेन र अमेरिकाका ग्राहकहरूले माओवादी द्वन्द्वका कारण 'यो गलैँचामा माओवादीको रगत पनि लागेको होला' भन्दै सामान किन्न इन्कार गरे र अर्डर रद्द गर्न थाले । करोडौँका सामानहरू कौडीको भाउमा बेच्नुपर्ने अवस्था आयो ।
त्यसपछि उनको जीवनमा ह्रास आउन थाल्यो । उनले आफ्नो व्यवसाय बचाउन घर, जग्गा, ६० तोला सुन र अन्तमा आफ्नो कारसमेत बेचे । उनले करिब पाँच करोड रुपैयाँ गुमाए ।
अन्तिम अवस्थामा कम्पनी बन्द गर्दा उनले आफ्ना २५० जना कर्मचारीहरूलाई लाइनमा राखेर पैसा बाँडेका थिए । हरेक कर्मचारीलाई बाटो खर्चसहित दिएर घर फर्काए । उनले आफ्नो साथीसँग मिलेर खोलेको कम्पनीसमेत बन्द गरे र भक्तपुरमा किराना पसल खोले । तर, उनकी श्रीमती विदेश गएपछि उनी एक्लैले पसल चलाउन सकेनन् । श्रीमती र छोराहरुसँग पनि उनको सम्पर्क छैन ।
अहिले नामगेल शेर्पा ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ को चित्रे गाउँको पनि अति विकट ठाउँमा बस्छन् । करोडौँको मालिक हुँदा पनि ऋण नलिएका कारण थप समस्यामा भने परेनन्, तर अहिले उनको जीवन निकै संघर्षपूर्ण छ । घरमा बिजुली बत्ती समेत छैन । कहिलेकाहीँ दाल-चामलको जोहो गर्न पनि कठिन हुन्छ । राम्रोसँग हिँडहुल गर्न सक्दैनन् । पार्किन्सन रोग लागेको छ ।
यस्तो अवस्थामा पनि उनी सडक किनारमा बसेर गिटी कुट्न थालेका छन्, जसबाट दिनको १००-१५० रुपैयाँ आम्दानी हुन्छ । उनी भन्छन्, 'पहिला म करोडमा रमाइराको थिएँ, अहिले रोडमा रमाइरहेको छु ।'
उनी आफ्नो जीवनमा आएको उतारचढावलाई सहजै स्वीकार्छन् । उनी भन्छन्, 'जो जे जस्तो अवस्थामा छ, त्यसमै रमाउन जान्नुपर्छ । जीवनमा हार खाएर केही हुँदैन ।'
जीवनको यो कठोर मोडमा पनि हाँस्न सक्ने उनको क्षमताले हामीलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण पाठ सिकाउँछ । यो कथाले पैसा र भौतिक सुखभन्दा पनि जीवनप्रतिको सकारात्मक दृष्टिकोण र धैर्य सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने प्रमाणित गर्छ ।
भिडियो हेर्नुहोस्