ओखलढुंगा । चम्पादेवी गाउँपालिकाको स्वास्थ्य चौकी घोराखोरीलाई गाउँपालिकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिकाको स्वास्थ्य शाखाले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।
पोषणमैत्री स्वास्थ्य संस्थाका लागि चाहिने मापदण्ड घोराखोरी स्वास्थ्य चौकीले पुरा गरेको हुँदा पहिलो चरणमा उक्त स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । आगामी वर्षहरुमा क्रमश अरु स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री घोषणा गरिने उनको भनाइ थियो ।
स्वास्थ्य चौकीमा नियमित बच्चाको वृद्धि अनुगमन गरेको, आइरन चक्की खाएका महिला, सुत्केरी पछि आइरन र भिटामिन ए खाएका स्वास्थ्य संस्थामा सुत्केरी हुने पोषण रजिष्टरमा पोषण सम्बन्धी सबै सुचना रेकर्ड राखिएको, पुर्ण स्तनपान गराउने, पोषण सम्बन्धी औषधि र सामग्री पुर्ण रहेको, जुकाको औषधि खाएको कुपोषित बालबालिका नरहेको, ६ महिनापछि दूधसहित अन्य पौष्टिकको मापदण्ड अनुसार आहार खुवाएको सुनिश्चित भएको, विद्यालय स्वास्थ्य पोषण अन्तर्गत जुकाको औषधि खाएको, स्वास्थ्य संस्थामा पोषण कर्नर र आम र शिशुलाई नियमित परामर्श गरिएको साथै तथ्यांक चुस्त दुरुस्त राखिएकोलगायतका सुचक पुरा गरेपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न पाइने प्रावधान छ ।
घोषणा कार्यक्रम वडा नं ६ का वडाध्यक्ष तिलकबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता अजय लुइँटेल, स्वास्थ्य शाखा प्रमुख प्रेम प्रसाद सुबेदीलगायतको सहभागिता रहेको थियो ।
स्वयं सेविकालाई प्रोत्साहन भत्ता
चम्पादेवी गाउँपालिका वडा नम्बर ६, ७ र १० नम्बर वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रति महिना १५ सयका दरले एकमुष्ठ १८ हजार प्रोत्साहन रकम उपलब्ध गराइएको छ । उनिहरूको कार्य मुल्यांकन गरेर थप रकम गाउँपालिकाले हस्तान्तरण गरेको हो ।
गाउँपालिकाका २४ जना स्वयं सेविकाहरुलाई रकम उपलब्ध गराइएको थियो ।