ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाले गरेको आयव्यय सार्वजनिक गरेको छ । गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा भएको आयव्यय विवरण सार्वजनिक गरेको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा ३६ लाख ८१ हजार २० रुपैंयाको स्थानीय विपद् कोष स्थापना गरेको थियो । उक्त कोषमा जनप्रतिनिधीको एक महिनाको सेवा सुविधा कट्टा गरेर ५ लाख १६ हजार ५ सय, गाउँपालिकाका कर्मचारीबाट १ लाख ९ हजार ४९४, शिक्षकहरुको सेवा सुविधाबाट ६ लाख ३० हजार रकम योगदान गरिएको थियो ।
त्यस्तै विभिन्न दाता, संघीय सरकार र प्रदेश सरकारबाट समेत प्राप्त अनुदान तथा केही योजनाहरुबाट कटौती गरिएको रकम समेत गरी ३६ लाख ८१ हजारको कोष निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए ।
उक्त कोषबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत आर्थिक वर्षमा २१ लाख ५५ हजार ३९९ रुपैंया खर्च गरेको छ । जसमा राहत सामग्री खाद्यन्न लगायत खरिद तथा वितरण १२ लाख ८० हजार १२३, सामग्री खरिद तथा क्वारेन्टाइन व्यवस्थापन ६ लाख ६४ हजार ४२०, विरामी चेकजाँच तथा यातायात खर्च १८ हजार, कर्मचारीलाई प्रोत्साहन ४० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । बाँकी बजेट कोषमा रहेको छ ।
उक्त कोषलाई कोरोनाका अतिरिक्त अन्य विपद्का घटनामा राहत तथा उद्धारका लागि समेत प्रयोग गर्ने गरि बृहत कोषका रुपमा विस्तार गरिने गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । कोषमा रकम बढाएर व्यवस्थित गरिने शर्माको भनाइ छ ।