ओखलढुंगा । जंगलमा खेर गइरहेको मछिनोको स्याउलाबाट तेल निकालेर ओखलढुंगाका वन समूह तथा निजी फर्मले मनग्गे आम्दानी गर्न थालेका छन् । बस्तुभाउलाई ओछ्याउन प्रयोग हुँदै आएको मछिनोको स्याउलाबाट निकालिएको तेल प्रतिलिटर ७ हजारभन्दा बढीमा बिक्री हुने गरेको छ ।
जिल्लामा रहेका १ दर्जनभन्दा बढी वन समूह तथा निजी फर्मले उद्योग सञ्चालन गरेर मछिनोको स्याउलाबाट तेल निकालिरहेका छन् । जिल्लाको लेकाली भेगमा पाइने मछिनोबाट निकालिएको तेलबाट मुभ, आइडेक्सजस्ता औषधि बनाउन प्रयोग हुने भएपछि यहाँका स्थानीयले आम्दानी गर्न थालेका हुन् ।
१५ देखि २५ लाख लगानीमा निर्माण गरिएको मछिनो प्रशोधन भट्टीबाट निकालिएको तेल चिन, जापान, जर्मनलगायतका देशमा निर्यात हुने गरेको छ । जिल्लामा वर्षा सिजनको ६ महिना मात्रै मछिनो प्रशोधन उद्योग सञ्चालन हुने गरेका छन् । पात्ले, जन्तरखानी, श्रीचौर, रावादोलु, भुसिंगालगायतका क्षेत्रमा मछिनो प्रशोधन उद्योग स्थापना भएका छन् ।