ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई छुट्टाछुट्टै प्रयोजनका शैक्षिक डायरी वितरण सुरु गरेको छ । शैक्षिक सुधार अभियान अन्तर्गत नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले डायरी वितरण सुरुवात गर्नुभएको हो ।
शिक्षण सिकाईलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाभित्र रहेका ५२ वटै सामुदायिक विद्यालयका हरेक विद्यार्थीलाई दैनिक गृहकार्यको सूचि टिप्ने डायरी, शिक्षकलाई अध्यापन डायरी र प्रधानाध्यापकलाई समग्र मूल्यांकन डायरीको व्यवस्था गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख फणिन्द्रबहादुर कट्वालले बताउनुभयो ।
नगरपालिकाले शैक्षिक सुधारका लागि विद्यालयमा दरबन्दी मिलान, सबै पिरियडमा पढाइ हुने व्यवस्था, ईहाजिरीको व्यवस्था, सीसीटीभीको व्यवस्था, अनुगमनलाई कडाई, तालिमलगायतका विषयलाई काम थालेको छ ।
नगरपालिकाले प्याकेज बनाएरै सुधारको कामलाई तीव्रता दिएको सिद्धिचरण नगरपालिकाका मेयर खनालले बताउनुभयो ।