प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ओखलढुंगाका प्राविधिक र कृषकको उपस्थितमा उन्नत आलु खेती प्रविधि विषयक स्थलगत तालिम तथा प्लाष्टिक मल्चिङ एवं पूर्व मूल वीउ आलु उत्पादन प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ । फागुन १५ गते मोलुुङ गाउँपालिका वडा नं ६ तथा खिजिदेम्बा गाउ पालिका वडा नं ६ का २५ जना कृषकहरुलाई आलुको उन्नत खेती प्रविधि तथा प्लाष्टिक मल्चिङ्ग प्रविधिबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिएको हो ।
उक्त तालिममा परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत रोशन अधिकारी, प्राविधिक सहायक लीला कुमार श्रेष्ठ एवं सरिता दाहालले सहजीकरण गरेका थिए । त्यस्तै फागुन १६ गते आलुबालीमा प्लाष्टिक मल्चिङ्ग प्रविधि प्रदर्शनी मोलुङ गाउँपालिका ६ मा सम्पन्न भयो । प्लाष्टिक मल्चबाट आलु लगायत अन्य तरकारी उत्पादन गर्दा झार नआउने हुँदा झार व्यवस्थापनमा खर्च गर्नु नपर्ने, माटोमा चिस्यान कायम रहने हुँदा पानीको न्यूनतम उपयोगबाट खेती हुने, जराको बृद्धि तथा विकास राम्रो हुने र उत्पादनमा बूद्धि हुने हुँदा कृषकहरुको निमित्त उत्पादन लागत न्यूनीकरण तथा उत्पादकत्व बृद्धिको उपयुक्त विधि रहेको वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले जानकारी दिए ।
एकाइका प्राविधिक लिला कुमार श्रेष्ठले हाल यस प्रविधिको प्रदर्शनी तथा प्रभावकारीता कार्यक्रम आलु जोनको प्रभाव क्षेत्र रहेको सिद्धिचरण नगरपालिका वडा नं ६ र ७ चिशंखुगढी गाउपालिका वडा नं ७ र सोल्खुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ८, ९, १०, ११ मा सञ्चालन गर्दै आएको बताए । प्राप्त नतिजाको आधारमा एकाइले आगामी कार्यक्रमको तर्जुमा गर्ने तथा कृषकको माग सम्बोधन गरिने वरिष्ठ कृषि अधिकृत अधिकारीले बताए ।