ओखलढुंगा । कृषि ज्ञान केन्द्र ओखलढुंगाले सुन्तलाजात बगैँचा व्यवस्थापन तथा सुदृढीकरण तालिम सञ्चालन गर्न थालेको छ । सुन्तलाका बगान रोग लागेर मासिने समस्या बढ्न थालेपछि कार्यालयले प्रयोगात्मक घुम्ती तालिम सञ्चालन गर्न थालेको हो ।
कार्यालयले मानेभञ्ज्याङ, चिशंखुगढीलगायतका गाउँपालिकामा रोग व्यवस्थापन, सुन्तला बाली संरक्षण र बोट काटछाँट सम्बन्धी तालिम दिइसकेको छ । आउँदा दिनमा सुन्तला मासिन नदिन थप अन्य गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत टीका बानियाँले जानकारी दिनुभयो ।
सुन्तला बगैँचा संरक्षणका लागि बगैँचा धनीहरुलाई भेला गराएर फिल्डमै तालिम दिँदा उपयोगी समेत भएको स्थानीयले बताएका छन् । ओखलढुंगामा २ सय ७६ हेक्टर क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । किसानमा प्राविधिक ज्ञान नहुँदा बोट सुक्ने समस्याका कारण जिल्लामा यो खेती मासिने दर बढेको छ ।