खिजीदेम्बा, भदौ १९ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले आफैँले किट खरिद गरेर समुदायस्तरको प्रतिनिधित्व हुनेगरी ७३ जनाको कोरोनाको पीसीआर परीक्षण गरेको छ । गाउँपालिकाले गरेको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
खिजीदेम्बा गाउँपालिकाले गाउँपालिकाभित्र उच्च जनसम्पर्कमा रही काम गर्ने सरकारी कर्मचारी, इलाका प्रहरी कार्यालयमा कार्यरत सबै प्रहरी र वडा वडा तथा खिजिफलाटे बजारमा रहेका होटल, पसल सञ्चालक तथा गाउँपालिकाका इच्छुक व्यक्तिहरू गरी ७३ जनाको स्वाब समुदायस्तरको प्रतिनिधित्व हुनेगरी संकलन गरी परीक्षणका लागि काठमाडौँस्थित केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । 'सरुवा भएर आएका एकजना प्रहरी कर्मचारीकी छोरीमा कोरोना देखिएपछि समुदायस्तरकै प्रतिनिधित्व हुनेगरी हामीले कोरोनाको स्वाब संकलन गरेका थियौँ,' खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले भने, 'रिपोर्ट नेगेटिभ आएकाले हामी हालसम्म सुरक्षित छौँ भन्ने प्रारम्भिक अवस्था आँकलन गर्न सक्छौँ ।'
आफैँले कीट खरिद गरेर समुदायस्तरकै प्रतिनिधित्व हुनेगरी कोरोनाको पीसीआर परीक्षण गर्नेमा खिजिदेम्बा गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका हो । गाउँपालिकाले आफ्नै ल्याब असिस्टेन्टलाई केन्द्रीय स्वास्थ्य प्रयोगशालामा पठाएर कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलनको तालिम समेत दिएको थियो । जसका कारण अहिले स्वाब संकलन र परीक्षणका लागि पठाउने कार्य सहज भएको छ । यसअघि जिल्लाबाट स्वाब लिने स्वास्थ्यकर्मी गाउँपालिका आउँदा र स्वाब पठाउँदा समयको ढिलाइ हुनुको साथै खर्च पनि बढी हुने गरेको थियो ।
गाउँपालिकाले रिपोर्ट नआउन्जेलसम्म कोरोना नियन्त्रणमा उच्च सर्तकता अपनाउँदै आएको छ । गाउँपालिकाले बुधबारे साप्ताहिक हाट र मानिसहरुको भीडभाड हुने सबै कार्यक्रमहरु बन्द गरेको छ । गाउँपालिकाभन्दा बाहिरबाट आउने र गाउँपालिका बाहिर जाने कार्य आ आफ्नो वडाको समन्वयमा मात्र हुनेगरी आवतजावतमा सबै कर्मचारीहरु र व्यक्तिहरूलाई निगरानीमा राखेर उच्च सतर्कता अपनाइएको छ । सुरक्षित समुदायलाई कोरोना संक्रमणको जोखिम हुन नपाओस् भनेर यसो गरिएको गाउँपालिकाले जनाएको छ ।
कोरोना संक्रमण देखिनु पूर्व नै यसरी हरेक स्थानीय तहले आ आफ्नो समुदायमा परीक्षणको कार्य गरेमा समुदायले एकातर्फ आफ्नो समुदायको तत्कालको अवस्थाका बारेमा जानकारी पाउने थिए भने एक स्थानीय तह र अर्को स्थानीय तहमा भएको संक्रमणको अवस्था समेत थाहा भई सुरक्षा सतर्कतामा थप मद्दत पुग्ने थियो ।