ओखलढुंगा, माघ ४ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकाको सीमानामा रहेको तलुवागढी संरक्षण हुन सकेको छैन । चौधौँ शताब्दीतिर निर्माण भएको उक्त गढीको अहिले भग्नावशेष बाँकी छ ।
तत्कालीन समयमा मकवानपुर कब्जा गरेपछि सेनबंशी राजाहरुले यहाँका किरात राज्यमाथि आक्रमण गरेका थिए । सो समयमै यही गढीबाट तोलवा राजाले सेनबंशी राजाहरुसँग लडाई लडेको इतिहास छ । अहिले पनि यो गढीको पर्खाल, बंकरलगायतका संरचना स्पष्ट छन् । तलुवागढीको विकासका लागि सिद्धिचरण नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ । तर गढीको संरक्षणको काम कहिलेदेखि सुरु हुने भन्ने टुंगो छैन ।