ओखलढुंगा, कात्तिक १५ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेको प्रहरी चौकी कोषाहाटको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भएको भवनको बिधिवत रुपमा उद्घाटन गरेका हुन् ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा प्रहरी चौकी कोषाहाटको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएपछि भवन उद्घाटन भएको हो । भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए । उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।
प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयबाट निर्माण भएको सो भवन पुष्पाञ्जली पीएस जेभीले निर्माण गरेको हो । सुविधासम्पन्न उक्त भवन उद्घाटन गर्नका लागि प्रमुख जिल्ला अधिकारी बन्दना राई, प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले, अरिदमनण गणका प्रमुख सेनानी विशाल सिंह, सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दुर्गा तामाङ, चम्पादेवी गाउँपालिकाका उपाध्यक्ष निर्मला रैका, भवन कार्यालयका निमित्त प्रमुख अनुज श्रेष्ठ, लेखापाल बालकृष्ण श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष झनककुमार कार्की, ठेकेदार कम्पनीका प्रतिनिधि श्यामकुमार श्रेष्ठलगायतको समेत उपस्थिति रहेको थियो ।