ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा क मा कांग्रेस-माओवादी गठबन्धन बलियो भएको गठबन्धनका उम्मेदवार प्रदीपकुमार सुनुवारले दावी गर्नु भएको छ । स्थानीय तह निर्वाचनमा प्रदेशसभा क का ३६ वटा वडामध्ये २६ वटा वडामा गठबन्धनले जित हासिल गरेकाले गठबन्धन बलियो भएको उहाँको दावी छ ।
उक्त निर्वाचनमा एमालेले ८ वटा वडामा मात्रै जित निकालेको थियो । अन्य २ वडामा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका थिए ।
'गठबन्धनको जित सुनिश्चितजस्तै भएको छ,' उम्मेदवार सुनुवारले रुम्जाटारमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा भन्नुभयो, 'त्यसैले अहिले पनि धाक धम्कीका गुनासा आइरहेका छन्, नडराई ढुक्क भएर मत दिनुहोस् ।'
अहिलेको परिवर्तन जनताको बलिदानले आएको भन्दै उहाँले कसैले धाक, धम्कीले मत प्रभावित बनाउन खोजे जनताको सुरक्षा गर्न गठबन्धन तयार रहेको उहाँले बताउनुभयो ।
नेपाली जनता रुपान्तरणको खोजीमा रहेकाले परिवर्तनका पक्षमा गठबन्धन उम्मेदवारलाई भोट दिनुपर्ने उहाँको धारणा थियो । उहाँले संविधान बचाउन, नीति निर्माण बनाउन र विकास गर्नका लागि गठबन्धन अग्रसर रहेको बताउनुभयो ।
सोही अवसरमा एमाले परित्याग गरेर रुम्जाटारमा ४ जना कांग्रेस प्रवेश गरेका छन् ।