ओखलढुंगा, असार १० । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड ६ लाख २३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । १० औं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
जसमध्ये सामाजिक विकासतर्फ ४५ करोड ३३ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ४० लाख, आर्थिक विकास तर्फ ११ करोड २८ लाख, पूर्वाधार विकासमा १० करोड ६६ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै वन वातावरण तथा विपद् व्यवस्थापनमा ३७ लाख विनियोजन गरिएको छ ।
नगरसभामा नगरपालिकाका मेयर तेजेन खनालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना किसानलाई हाट कर छुट दिने घोषणा गर्नुभएको छ । नगरपालिकाले सबै वडाहरुमा २ वर्षभित्र विद्युत विस्तार गर्ने, ३ वर्षभित्र सबै क्षेत्रमा खानेपानी पुर्याउने र सामाजिक सुरक्षा भत्तालाई बैंकसँगको सहकार्यमा गाउँमै वितरण गर्ने विषय पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटेको छ ।