ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकामा साना खोला असंख्य छन् । अरुबेला सहजै तर्न सकिए पनि पानी परेको बेला यस्ता खोला पार गर्न निकै मुश्किल हुने गर्छ । खोला उर्लिएको बेला कहिलेकाहीँ स्थानीयलाई बगाउँछ पनि ।
यस्तै समस्या भोगिरहेका यहाँका स्थानीयका लागि खिजीदेम्बा गाउँपालिका ५ का स्थानीय आङपासाङ शेर्पाले ८ वटा छानासहितका काठेपुल निर्माण गरिदिनु भएको छ । उहाँले खिजीदेम्बाको ५ र ६ नं वडामा काठेपुल निर्माण गर्नुभएको हो ।
हाल अमेरिका रहनु भएका शेर्पाले ५ नं वडामा ३ वटा र ६ नं वडामा ५ वटा पुल निर्माण गर्नुभएको छ । उहाँले लाखौँ रुपैयाँ खर्चिएर काठेपुल निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको खिजीदेम्बा गाउँपालिका ५ का वडाध्यक्ष रामकुमार सुनुवारले बताउनुभयो । सुनुवारका अनुसार शेर्पाले खिजीदेम्बामा अरु सामाजिक कामहरु समेत गर्दै आउनु भएको छ ।
गाउँपालिकाभित्र चिटिक्क परेका काठेपुल निर्माण गरेकोमा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले धन्यवाद दिनुभएको छ । राज्यको आँखा नपुगेको दूरदराजका गाउँमा काठेपुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न राहत भएको छ ।