ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको माम्खा पहिरोबाट ५ दर्जन बढी घरधुरी जोखिममा परेका छन् । २०३९ सालतिरबाट चलिरहेको पहिरो अहिले झनझन बढ्दै गएको छ ।
पहिरोबाट चिशंखुगढी गाउँपालिका ७ को डाँडागाउँ, भँडारे, बसेरी, सिम्पानी, गोगने, पातल, भाङखर्क, चिशंखुगढी ८ को सेर्तु गाउँ र चिशंखुगढी ४ को नवलपुर गाउँ जोखिममा छन् । पहिरोले केही वर्ष अघि २ वटा घर र एउटा विद्यालय विस्थापित गरेको चिशंखुगढी ७ का वडाध्यक्ष मुगाधन राईले बताउनुभयो ।
स्थानीय ठाडो खोलाबाट चलेको पहिरोले अहिले विशाल रूप लिएर वस्ती प्रवेश गर्न थालेको स्थानीय बासिन्दाको भनाई छ । पहिरो बढ्दै गएपछि खार्ते खोलाले समेत कटान थालेको छ । पहिरोले यहाँका स्थानीयको सयौँ हेक्टर जमिन बगाइसकेको छ ।
माम्खा पहिरो नियन्त्रणका लागि हालसम्म कसैले चासो नदिएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
