ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हिलेपानी नजिक सिद्धिचरण राजमार्गमा गुडिरहेको एउटा सुमोमा आगो लागेको छ । प्रहरीका अनुसार यात्रुबाहक सुमोमा इन्जिन तातिएका कारण वाइरिङ तार सर्ट भएर आगो लागेको हो ।
उक्त सुमोमा ९ जना यात्रु सवार थिए । आज दिउँसो १ बजेको समयमा लागेको आगोका कारण काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना१ज ८८८२ नम्बरको सुमो जलेर पूर्ण क्षति भएको छ । यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी हुनासाथ प्रहरी चौकी हर्कपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले सुमोमा भएका यात्रु र सामान निकाल्न सफल भएको छ ।