ओखलढुंगा । सिन्धुली बस दुर्घटनाका मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । सिन्धुली प्रहरीले दिएको जानकारी अनुसार आज अबेर मात्रै सबैको सनाखत भएको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा सोही गाडीका सहचालक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देबबहादुर सार्की, सिद्धिचरण नगरपालिका २ का अन्दाजी ३२ वर्षीय पेशल भूजेल, सिद्धिचरण नगरपालिका ५ की ३२ वर्षीया जोशना राई, सिद्धिचरण नगरपालिका ५ कै ४० वर्षीया राधा भूजेल, चिशंखुगढी गाउँपालिका ४ का २६ वर्षीया सन्जित राई र उदयपुरको कटारी नगरपालिका २ बस्ने अन्दाजी ३४ वर्षीया कुमारी क्याप्छाकी मगर रहेका छन् ।
दुर्घटनामा ३० जना घाइते भएका थिए । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाका १३ जना घाइतेलाई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएको छ । दुर्घटना आज विहान भए पनि दिउँसो घाइतेहरुलाई उद्दार गरिएको थियो । अहिले उक्त दुर्घटनाका घाइतेहरुको उपचार टिचिङ, राष्ट्रिय ट्रमा सेन्टर, सैनिक अस्पताललगायतमा भइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो । अन्य घाइतेहरुलाई पनि एम्बुलेन्समार्फत काठमाडौँ पठाउने क्रम जारी रहेको छ ।