ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ विगुटारको सुन्तरे खोलामा झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई सहज हुनुका साथै पर्यटकीय आकर्षण समेत बढेको छ । स्थानीय भँगेरी र फन्देपु गाउँ जोड्ने पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दालाई सुविधा थपिएको छ ।
जिल्लाकै लामो दावी गरिएको उक्त पुलको लम्बाई २ सय ७६ मिटर रहेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरेको पुल धुलीखेल जगदम्बा बी लामा जेभीले सम्पन्न गरेको हो । पुल निर्माण भएसँगै आवतजावतमा सुविधा भएको स्थानीयले बताएका छन् ।
लामो पुलका कारण पुल हेर्न र फोटो खिच्न अहिले आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । यो पुलको भारबहन क्षमता ८३ मेट्रिकटन अर्थात् ५ सय ७६ पदयात्री रहेको छ ।