ओखलढुंगा, ३० कात्तिक । तीन हजार तीन सय ५० मिटर अग्लो देम्बाडाँडा ओखलढुंगाकै अग्लो डाँडा हो । यो डाँडा खिजीदेम्बा गाउँपालिका वडा नं. ५ मा पर्छ । यो डाँडाको विशेषता भनेकै विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका दर्जनौं हिमशृङ्खलाको दृष्यावलोकन हो ।
यहाँ जाने जो कोहीले सोलुखुम्बु र ओखलडुंगाका आकर्षक पहाडी भूगोल हेर्दै मजा लुट्न पाउँछन् । यस क्षेत्रमा बहुमूल्य जडीबुटीहरू समेत पाइन्छ । यहाँ चैत–वैशाखको सिजनमा जंगलै ढकमक्क हुनेगरी रंगीविरंगी गुराँस फुलेको हेर्न पाइन्छ ।
यो डाँडामा ओखलढुंगा सदरमुकामबाट ठाडे-टोड्के-जन्तरखानी-झाप्रे (सोलुखुम्बु) रुट हुँदै जान सकिन्छ । यस्तै सदरमुकामबाटै मोलुङको श्रीचौर-हाते-बन्से हुँदै खिजिफलाटे बजारबाट चुप्लुभञ्ज्याङसम्म सवारीमा र चुप्लुभञ्ज्याङबाट उत्तरतर्फ साढे ३ किलोमिटर उकालो हिँडेपछि यस डाँडाको विन्दुमा पुग्न सकिन्छ ।
रामेछापतर्फबाट भने तामाकोशी–खिम्ति–मन्थली सडकखण्डको हल्देबाट धोवी–लिखुखोला–ढाँडे–खिजिफलाटे हुँदै चुप्लुभञ्ज्याङसम्म कच्ची सडक प्रयोग गरी पुग्न सकिन्छ । चुप्लुभञ्ज्याङमा खाने, बस्ने व्यवस्थाका साथै विद्युत्को पनि सुविधा छ । तिहारको फुर्सदमा देम्बाडाँडा तपाईँको गन्तव्य हुनसक्छ ।
हेर्नुहोस् केही तस्बिरहरू-