ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका जंगलमा यतिबेला गुराँस ढकमक्क फुल्न थालेको छ । अघिल्ला वर्षझैँ यसवर्ष पनि यहाँका डाँडापाखा राताम्मे हुनेगरी विभिन्न प्रजातिका गुराँस फुलेको हो ।
यहाँको ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा, चुली मन्दिर आसपासको डाँडाकटेरी क्षेत्रमा बढी गुराँस फुल्ने गर्छ । गुराँस फुलेपछि यहाँका पहाडी डाँडापाखा सुन्दर र आकर्षक देखिन थालेका छन् । उचाइका आधारमा माघदेखि वैशाख महिनासम्मै यहाँ गुराँस फुल्ने गरेको छ । गुराँस फुल्दा यहाँका ग्रामीण वस्ती समेत सजिसजाउ देखिन थालेका छन् ।
पहाडी क्षेत्रमा फुल्ने गुराँसका धेरै प्रजाति यहाँ पाइए पनि यसको अध्ययन भने हुन सकेको छैन । गुराँस फुलेसँगै यहाँ आन्तरिक तथा वाह्य पर्यटनको संभावना भए पनि प्रचारप्रसार अभावमा पर्यटक पुग्न नसकेको खिजीदेम्बा गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले बताउनुभयो ।