ओखलढुंगा । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ओखलढुंगाको जन्तरखानीमा खुला महिला पुरुष १० किलोमिटर ठाडे मैदाने म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । इन्द्रावती मैदाने सेवा समाजले आयोजना गरेको प्रतियोगितामा खुला पुरुषतर्फ याम खत्री, खुला महिलातर्फ स्मारिका राई र खुला ५० प्लस ओभरमा याक्पु शेर्पा विजयी भएका छन् ।
निर्धारित दूरी खत्रीले २८ मिनेट २ सेकेन्ड, राईले ४४ मिनेट २१ सेकेन्ड र शेर्पाले ४९ मिनेट १५ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा पुरूषतर्फ सुवास कार्की, पुकार जंग बस्नेत र सुजन दाहाल क्रमश: द्वितीय, तृतीय र सान्त्वना भएका थिए । यस्तै खुला महिलातर्फ लाकी शेर्पा, सुमित्रा तामाङ, लाक्पा किन्जी शेर्पा क्रमश: द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।
प्रतियोगितामा खुला ५० प्लस ओभरमा तुमबहादुर मगर, दानबहादुर मगर र भलबहादुर कट्वाल क्रमश: द्वितीय, तृतीय र सान्त्वना भए । प्रतियोगितामा खुला पुरुष र महिलातर्फका विजेताहरुलाई क्रमशः नगद ११ हजार, ८ हजार, ५ हजार र ३ हजारका साथ प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै खुला ५० प्लस ओभरका विजेताहरुलाई नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता विराज समाज निवर्तमान अध्यक्ष दिनेशकुमार मगरको विशेष योगदानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पुरस्कार सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले वितरण गर्नुभएको थियो । महिलालाई हरेक कार्यक्रममा प्रोत्साहन गर्ने उद्देश्यले उच्च अदालत ओखलढुंगाका जिल्ला सरकारी वकिल बियन तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।