ओखलढुंगा । नेपालका लागि वाशिङ्टन स्टेट, अमेरिकाका मानार्थ महावाणिज्यदूत, पर्वतारोही एवं समाजसेवी एसी शेर्पाले नेपालको पर्यटन र सामाजिक एकतामा कोसेढुङ्गा साबित हुने एउटा महायोजना सार्वजनिक गर्नुभएको छ । भोलि कात्तिक १५ बाट विश्वव्यापी रूपमा सुरु हुने “Global TikTok Game for Social Cause” टिकटक गेमिङ अभियानको नेतृत्व उहाँ आफैँले गर्नुहुने भएको छ ।
यो अभियानको मुख्य उद्देश्य सोलुखुम्बु र ओखलढुङ्गाको सीमामा अवस्थित पिके पिकमा शान्ति, संस्कृति र एकताको विश्वव्यापी प्रतीकका रूपमा ‘बुद्ध पार्क’ निर्माण गर्नु हो । यो पार्क ध्यान केन्द्र बन्नुका साथै स्थानीय शेर्पा संस्कृतिको जीवन्त प्रदर्शनी गर्ने र प्राकृतिक सौन्दर्यसँगै पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
यो विशाल टिकटक गेमबाट उठेको हरेक पैसा पार्क निर्माणमा खर्च गरिनेछ र यसले स्थानीय अर्थतन्त्रलाई दीर्घकालीन बल दिनुका साथै रोजगारी, शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष लाभ पुर्याउने विश्वास लिइएको छ । खेल नेपाली समयअनुसार राति १०:४५ बजे सुरु हुनेछ जुन अमेरिका (EST) र क्यानडा (Toronto) मा दिउँसो १२:०० बजे, भारतमा राति १०:०० बजे, पाकिस्तानमा राति ९:३० बजे, युकेमा बेलुकी ४:०० बजे, दुबईमा राति ८:०० बजे, थाईल्यान्डमा राति ११:०० बजे तथा सिंगापुर र मलेसियामा मध्यरात १२:०० बजे (नोभेम्बर २) पर्नेछ ।
एसी शेर्पाले विश्वभरका नेपाली समुदायलाई टिकटकमा भिडियो बनाएर, सेयर गरेर र यो अभियानलाई विश्वव्यापी बनाएर सहभागी हुन विशेष आह्वान गर्नुभएको छ । उहाँको सन्देश स्पष्ट छ– “एक क्लिक, एक सेयर, एक समर्थन – नेपालको गौरव र भविष्य निर्माणमा साथ दिनुहोस् ।”
पिके पिकलाई विश्व मानचित्रमा स्थापित गर्दै नेपालको पर्यटनलाई नयाँ उचाइ दिने यो महायोजनामा हरेक नेपालीको सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उहाँको दृढ विश्वास छ ।