ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले अभियानकै रुपमा गाउँपालिकाका वडा वडामा वडास्तरीय र पालिकाको केन्द्रमा मूलखर्कमा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाइका साथै जेष्ठ नागरिक र विद्यार्थीलाई समेत सम्मान गरेको छ ।
गाउँपालिकाले १८ देखि २३ गतेसम्म वडावडामा र २५ गते गाउँपालिका केन्द्रमा सार्वजनिक सुनुवाइ आयोजना गरेको हो । वडास्तरमा आयोजना भएका सबै सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमल तामाङ, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीलगायत विषयतग शाखाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
वडास्तरमा नागरिक र जवाफदेही वक्ताबीच विकास निर्माण र सेवाप्रवाहबारे सवालजवाफ भएको थियो । साथै सोही कार्यक्रममै आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा समेत गरिएको छ । गाउँस्तरमै गाउँपालिकाले जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत ८० वर्ष उमेर पुगेका ४ सय ८० जना जेष्ठ नागरिकहरुलाई ओढ्ने ब्ल्यांकेट, पानी तताउने विद्युतीय कित्ली र थर्मस वितरण गरेको थियो ।
पालिकास्तरीय सार्वजनिक सुनुवाइमा पालिकास्तरका मात्रै नभइ जिल्लास्तरबाट समेत जवाहदेही वक्ता निम्त्याइएको थियो । जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायत सुरक्षा निकायका प्रमुखहरु समेत जवाफदेही वक्ताका रुपमा थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विभिन्न सार्वजनिक सेवा प्रदायक निकायका प्रमुख तथा प्रतिनिधिहरुलगायत स्थानीय बासिन्दा र सरोकारवालाहरुको भव्य उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्युत, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, पानी, कृषिलगायतका विषयमा नगारिकले प्रश्न तथा जिज्ञासा उठाएका थिए । पालिकास्तरीय कार्यक्रममा वडा नं ५ का वृद्धवृद्धाहरुलाई सम्मानका साथमा सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाबाट सहभागी भएर ३१ जनाले स्वर्ण, १२ जनाले रजत र ३ जनाले कास्य पदक प्राप्त गरेका थिए। गाउँपालिकाले ती विजेताहरूलाई क्रमशः रु. २,०००, रु. १,५०० र रु. १,००० का दरले नगदसहित कदर पत्र प्रदान गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने पाँच जना छात्रछात्रालाई पनि नगद रु. ५,००० र कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
साथै, आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने सुनकोशी माध्यमिक विद्यालय, आरुभञ्ज्याङ माध्यमिक विद्यालय र पञ्चकन्या माध्यमिक विद्यालय विद्यालयहरूलाई नगद रु. २०,००० सहित सम्मान गरिएको थियो।